२०८३ बैशाख ३ गते , विहीबार

झापा आन्दोलनका योद्धा तामाङको पक्की घर बन्ने भयो

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १६ गते , विहीबार
झापा आन्दोलनका योद्धा तामाङको पक्की घर बन्ने भयो

झापा । अर्जुनधारा नगरपालिका–१ स्थित सिस्ने बस्ने ७४ वर्षीय झापा आन्दोलनका योद्धा मनकुमार तामाङले पक्की घर पाउने भएका छन् । सञ्चार माध्यममा तामाङ बस्ने घरको तस्बिर र उनले भोगेको राजनीतिक पीडा सहितको समाचार प्रकाशन भएपछि दाताको सहयोगमा उनले घर पाउने भएका हुन् ।

तामाङ २०२८ सालको झापा आन्दोलनमा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीका अङ्गरक्षक थिए । तामाङ ओलीको जीवन रक्षाका लागि घरेलु हतियार सहित बन्दुक लिएर ओली सुरक्षार्थ काम गर्थे । सर्वसाधारणको हत्या गरेको आरोपमा तत्कालीन शासकले उनलाई पक्राउ गरेर १७ वर्ष ७ महिना ७ दिन जेल हालेको थियो । तामाङलाई प्रहरीले पक्राउ गरेपछि ओली पनि पक्राउ परेका थिए ।

झापाको अलग अलग ठाउँबाट पक्राउ परेका ओली र तामाङ काठमाडौँको नख्खु जेलमा ११ महिनाको कारावास जीवनसँगै बिताएका थिए । २०४६ सालमा बहुदलीय व्यवस्था आएपछि उनी जेल मुक्त भए । तर, राजनीतिक, आर्थिक र पारिवारिक पीडाबाट मुक्त भएनन् । संगैजेल परेका तत्कालीन कम्युनिस्ट पार्टीका नेताहरु यति वेला मुलुकको नेतृत्व तहमा छन् । रातदिन नभनी जसले कम्युनिस्ट नेताको जीवन रक्षा गर्‍यो, यति बेला उनीहरू घरको न घाटको जस्तो भएका छन् । तामाङका छिमेकी भन्छन्, ‘केपी ओलीको लागि तामाङले खुकुरी र बन्दुक नबोकेको भए सायद उनी सहिद हुन्थे होला ।’ ओली प्रधानमन्त्री बन्नलाई तामाङको योगदान उच्च रहेको स्थानीयले बताए ।

सञ्चार माध्यममा तामाङको कहाली लाग्दो राजनीतिक भोगाइ सार्वजनिक भएपछि अर्जुनधारा नगरपालिकाले उनको निर्माण हुने घरका लागि ३ लाख दिने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख हरिकुमार रानाले राजनीतिक परिवर्तनका लागि भएको आन्दोलनका योद्धाको लागि ३ लाख दिने बताए । यस्तै चारपाने स्थित सहारा नेपालले पनि तामाङको घर निर्माणका लागि चासो देखाएको छ । सहारा नेपालको एक टोलीले बुधवार तामाङको घर र उनको अवस्थाका बारेमा जानकारी लियो ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले पनि तामाङको बारेमा गम्भीर चासो व्यक्त गरेको छ । स्वकीय सचिव इन्द्र भण्डारीले एमालेका झापा अध्यक्ष चिन्तन पाठकलाई फोन गरेर सञ्चार माध्यममा आएका कुराको अवगत गराएका थिए । तामाङको घर निर्माणका लागि बुधवार निर्माण उपभोक्ता समिति गठन भएको छ । अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराईको संयोजकत्वमा ७ सदस्यीय मनकुमार तामाङको घर निर्माण उपभोक्ता समिति गठन भएको हो । समितिले वैशाख १९ गते घरको शिलान्यास गर्ने कार्यक्रम रहेको बताइएको छ ।

समितिको सहसंयोजकमा दिपीन राई, सचिवमा विनोद सापकोटा, कोषाध्यक्षमा मनीषा चम्लागाई, सदस्यमा युवराज लोहार, पवन खनाल र उपेन्द्र बस्नेत छन् । निर्माण उपभोक्ता समितिका संयोजक भट्टराईका अनुसार एटेच बाथरुम, भान्सा कोठा सहित ३ कोठाको आरसिसी घर निर्माण हुने भएको छ । अर्जुनधारा नगरपालिकाको प्राविधिक शाखाले घर निर्माणको लागत स्टिमेट ८ लाखको हुने बताएको छ ।

सम्बन्धित समाचार