पछिल्लो २४ घन्टामा थपिए ३ हजार १२२ जनामा कोरोना संक्रमित
झापा । पछिल्लो २४ घन्टामा देशभर थप ३ हजार १ सय २२ जनामा कोरोना भाइरस पुष्टि भएको छ। यसै अवधिमा ४ सय ५० जनाले कोरोनालाई जितेर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ९ हजार २ सय ९२ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा ३ हजार ३२ जना र ७८६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना गरी ३ हजार १ सय २२ जना नयाँ संक्रमित भेटिएका हुन्।
थप संक्रमितसँगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ३ सय ८२ पुगेको छ। क्वारेन्टिनमा ६९ जना छन्। त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसियुमा २५२ र भेन्टिलेटरमा ६५ जना उपचाररत छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आइतबार उपत्यकामा १ हजार ४ सय ९८ जना संक्रमित भेटिएका छन्। जसमा १ हजार १ सय ३२ जना काठमाडौंमा २ सय ७० ललितपुर र ९६ जना भक्तपुरमा भेटिएको मन्त्रालयले जनाएको छ।