२०७८ बैशाख २४ गते , शुक्रवार

आयोजकले उचाल्यो कनकाई भेट्रान्स कपको उपाधि

आयोजकले उचाल्यो कनकाई भेट्रान्स कपको उपाधि :: Times of Pradesh

झापा । पाहुना टोली हाम्रो इटहरी भेट्रान्स क्लबलाई ३–० गोल अन्तरले हराउँदै आयोजक कनकाई भेट्रान्स क्लबले झापाको सुरुङ्गामा सम्पन्न कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जितसँगै कनकाईले नगद १ लाख १ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता हाम्रो इटहरीले ६१ हजार रुपैयाँमा चित्त बुझायो ।
शनिबार कनकाई माविको खेल मैदानमा भएको फाइनल खेलमा कनकाईले हाम्रो इटहरीलाई सुरुवातदेखि नै दबाबमा राखेको थियो । हाम्रो इटहरीले केही मुभ बनाए पनि गोल गर्न भने सकेन ।
खेलको १३ औँ मिनटमा कनकाईका रमेश गुरुङले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । हाम्रो इटहरीको फितलो रक्षापंक्तिको फाइदा उठाउँदै सन्तोष बस्नेतले उपलब्ध गराएको क्रसलाई रमेशले गोलको दिशा दिएका थिए ।
त्यस्तै, रमेशको पासमा सन्तोषले टिमका लागि २४ औँ मिनेटमा दोस्रो गोल गरेका थिए । ४४ औँ मिनेटमा सन्तोषले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे ।
गोलपोस्टको दायाँ बार च्यापेर सन्तोषले गरेको प्रहार गोलरक्षकको हातबाट फुत्किएर गोलमा परिणत भएको थियो । १६ र २० औँ मिनेटमा नरेन्द्रमणि लिम्बूको दुईवटा हेडर हाम्रो इटहरीका गोलरक्षक देव कान्तले बचाएका थिए ।
फाइनल खेलको म्यान अफ द म्याच आयोजक कनकाईका सन्तोष बस्नेत भए । उनलाई ढुवानी व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा युवा व्यवसायी श्याम प्रसाईंले नगद दुई हजार रुपैयाँ प्रदान गरे ।
प्रतियोगिताभरिको उत्कृष्ट गोलरक्षक कनकाईका सञ्जय ठाकुर भए । उनले नगद दुई हजार पाए । उत्कृष्ट खेलाडी रमेश गुरुङ घोषित भए । उनले पनि नगद पाँच हजार पाए ।
विजेता तथा उपविजेता टोलीलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मञ्जु प्रसाईंलगायतले पुरस्कार वितरण गरेका थिए । कनकाई भेट्रान्स क्लबको आयोजनामा कनकाई माविको खेल मैदानमा भएको प्रतियोगितामा ८ वटा टिम सहभागी थिए ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment