२०७८ बैशाख २४ गते , शुक्रवार

कनकाई भेट्रान्स कप : आयोजक फाइनल प्रवेश

कनकाई भेट्रान्स कप : आयोजक फाइनल प्रवेश :: Times of Pradesh

झापा । आयोजक कनकाई भेट्रान्स क्लब झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधवार भएको पहिलो सेमिफाइनल खेलमा विराटनगरको विराट बुद्ध स्पोर्टिङ्ग क्लबलाई २–१ गोल अन्तरले हराउँदै आयोजक कनकाईले फाइनलमा स्थान पक्का बनाएको हो ।

खेलको पहिलो हाफमा विराट बुद्धले अग्रता बनाए पनि दोस्रो हाफमा आयोजकले दुई गोल फर्काएको थियो । खेलको २९ औँ मिनेटमा विराट बुद्धका नीराजन बस्नेतले उत्कृष्ट गोल गरेका थिए । कनकाईको रक्षापंक्ति बिट भएको मौकाको फाइदा उठाउँदै बस्नेतले गोल गरेका थिए । त्यस्तै, ३४ औँ मिनेटमा विराट बुद्धका विराट्कुमार भूजलको प्रहार कनकाईका गोल रक्षक सञ्जय ठाकुरले सुन्दर बचाउ गरेका थिए ।

दोस्रो हाफमा भने आयोजक कनकाई लयमा फर्किएको थियो । खेलको ४९ औँ मिनेटमा कनकाईका रमेश गुरुङले पहिलो गोल गर्दै खेल बराबरीमा ल्याए । सन्तोष बस्नेतको पासमा गुरुङले बललाई पोस्टको दिशा दिएका थिए । त्यस्तै, खेलको ६१ औँ मिनेटमा कनकाईले दोस्रो गोल गर्दै आफ्नो जित निश्चित गरेको थियो । रमेश गुरुङको पासमा राजु खड्काले गोल गरेका थिए । ६२ औँ मिनेटमा कनकाईले दोस्रो गोल गरेपछि विराट बुद्धले खेल मैदान छोडेको थियो । म्याच रेफ्री लक्ष्मण जैसवालले विराट बुद्धलाई खेलमा फर्किन आग्रह गरे पनि नमानेपछि कनकाईले खेल जितेको निर्णय गरेका थिए ।

यसैबिच, समय अवधि नसकिँदै खेल मैदान छाड्ने विराट बुद्धलाई झापा जिल्लाभरि कुनै पनि प्रतियोगितामा सहभागी नगराइने म्याच रेफ्रीले निर्णय गरेका छन् । आयोजक कनकाई भेट्रान्स क्लबले पनि निर्णायकको अन्तिम निर्णय नै आयोजकको निर्णय भएको जनाएको छ । आजको खेलको म्यान अफ द म्याच आयोजक कनकाईका पूर्ण सुब्बा घोषित भए । उनलाई ढुवानी व्यवसायी तथा फुटबल प्रेमी श्याम प्रसाईंले नगद दुई हजार रुपैयाँ प्रदान गरे । कनकाईले फाइनल खेल दुधे र इटहरीबिचको विजेतासँग खेल्नेछ । कनकाई भेट्रान्स क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ वटा टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार पाउँदा उपविजेताले नगद ६१ हजार र ट्रफी पाउनेछ ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment