२०७८ बैशाख २४ गते , शुक्रवार

पश्चिम बंगाल निर्वाचन : दार्जिलिङसहित ६ जिल्लामा आज मतदान हुँदै

सीमा नाका सिल

पश्चिम बंगाल निर्वाचन : दार्जिलिङसहित ६ जिल्लामा आज मतदान हुँदै :: Times of Pradesh


झापा । कोरोना कहरबीच पश्चिम बंगालमा विधानसभा निर्वाचनअन्तर्गत आज पाँचौँ चरणको मतदान भइरहेको छ। प्रदेश १ को झापा र इलामसँग जोडिएको पश्चिम बंगालको नेपालीभाषीको बाहुल्यता रहेको दार्जिलिङसहित ६ जिल्लामा ४५ सिटका लागि आज मतदान भइरहेको छ।

दार्जिलिङ जिल्लाको दार्जिलिङसहित खरसाङ, सिलिगुडी, मटिगाडा‚ नक्सलबाड़ी र फासीदेवा गरी पाँच सिट, कालिम्पोङको एक सिट, जलपाईगुडीको सात सिट, नदियाको आठ सिट, उत्तर चौबिस परगनाको १६ सिट र पूर्वी बर्दवानको ८ सिट गरी ४५ सिटको लागि मतदान हुँदैछ।

विधानसभा निर्वाचनको क्रममा अप्रिल १० सम्म पाँचजनाको ज्यान गएपछि निर्वाचन आयोगले पाँचौँ चरणको मतदानमा उच्च कानुनी सतर्कता अपनाएको छ। आयोगले मतदान केन्द्रको २०० मिटर क्षेत्रभित्र धारा १४४ लागू गरेको छ। उक्त धारा लागु भएसँगै मतदान केन्द्र नजिकै भीडभाड गर्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरीलाई ठाडो निर्देशन दिएको छ।

नेपाली भाषीको बाहुल्यता रहेको पहाडी जिल्ला दार्जिलिङ, कालिम्पोङ र खरसाङ गरी तीन निर्वाचन क्षेत्रमा भारतीय जनता पार्टी, तृणमूल कांग्रेससँग गठबन्धन गरेका विमल गुरुङ नेतृत्वको गोर्खा जनमुक्ति मोर्चा र विनय तामाङ नेतृत्वको गोर्खा जनमुक्ति मोर्चाले छुट्टाछुट्टै प्यानल खडा गरी उम्मेदवार उठाएको छ। 

भाजपाले दार्जिलिङ निर्वाचन क्षेत्रबाट नीरज जिम्बा, कालिम्पोङ निर्वाचन क्षेत्रबाट शुभ प्रधान र खरसाङ निर्वाचन क्षेत्रबाट विष्णुप्रसाद शर्मा (बिपी बजगाईँ)लाई उम्मेदवार बनाएको छ। ममता बनर्जीको तृणमुलसँग गठबन्धन गरेका विमल गुरुङ नेतृत्वको गोर्खा जनमुक्ति मोर्चाले दार्जिलिङ निर्वाचन क्षेत्रबाट पिटी ओला, कालिम्पोङ निर्वाचन क्षेत्रबाट डा. राम भुजेल र खरसाङ निर्वाचन क्षेत्रबाट नारबुजी लामालाई उम्मेदवार बनाएको छ।

त्यस्तै‚ विनय तामाङ नेतृत्वको गोर्खा जनमुक्ति मोर्चाले दार्जिलिङबाट केशवराज पोखरेल, कालिम्पोङबाट रुदेन सादा लेप्चा र खरसाङबाट छिरिङ दाहाललाई उम्मेदवार बनाएको छ। अप्रिल २२ मा छैटौँ, २६ मा सातौँ र २९ मा आठौँ चरणको मतदान हुँदैछ। मत परिणाम मे २ मा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ। यता बंगाल निर्वाचनलाई मध्यनजर गरी झापाको काँकडभिट्टा, भद्रपुर र इलामको पशुपतिनगर नाका बिहीबारदेखि शनिबार बेलुकी ६ बजेसम्मका लागि सिल गरिएको छ। 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment