वैशाख ४ देखि झापाको सुरुङ्गामा प्रदेशस्तरीय भेट्रान फुटबल प्रतियोगिता
.jpg)
झापा । झापाको सुरुङ्गामा एक नम्बर प्रदेशस्तरीय प्रथम भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ। कनकाई भेट्रान क्लबले अन्य ९ वटा स्थानीय सामाजिक संघ-संस्थालाई सहयोगी बनाएर वैशाख ४ देखि ११ गतेसम्म कनकाई माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सुरू गर्ने भएको हो। आयोजक कनकाई भेट्रान क्लबले मंगलबार सुरुङ्गामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी गराएको थियो।
आयोजकले कनकाई उद्योग वाणिज्य संघ, कनकाई खेलकुद प्रतिष्ठान, सुरुङ्गा जेसिज, लायन्स क्लब अफ सुरुङ्गा, नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गा, रोटरी क्लब सुरुङ्गा, ज्ञानज्योति युवा क्लब, ह्वाइट वास क्रिकेट क्लब र सुरुङ्गा सहकार्य युवा क्लवलाई प्रतियोगिताको सहयोगी संस्था बनाएको छ। १ नम्बर प्रदेशका झापा, मोरङ र सुनसरीका आठ वटा टिमले प्रतियोगितामा सहभागिता जनाउने छन्।
झापाका आयोजक कनकाई भेट्रान क्लबसहित भद्रपुर भेट्रान क्लब, दमक–लखनपुर भेट्रान क्लब र दुधे भेट्रान क्लब प्रतियोगितामा सामेल हुनेछन्। यस्तै, मोरङको एक मात्र विराट बुद्ध भेट्रान क्लब प्रतियोगितामा सहभागी हुन आउने छ। आयोजक समितिका अनुसार सुनसरीबाट धरान भेट्रान क्लब र हाम्रो इटहरी भेट्रान क्लबले सहभागिता जनाउने छन्।
प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार नगसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउने आयोजक समितिले बताएको छ। यस्तै, उपविजेताले नगद ६१ हजार पाउने आयोजक समितिका अध्यक्ष राजेन्द्र खतिवडाले बताए।
खेलमा प्रत्येक टिमबाट ४० वर्ष नाघेका ८ जना र ४५ वर्ष नाघेका ३ जना खेलाडी मैदानमा हुनेछन्। खेलाडी परिवर्तन हुँदा पनि सोही उमेर समूहका खेलाडीलाई मात्र मैदान प्रवेश दिइने आयोजक समितिले नियम बनाएको छ। अध्यक्ष खतिवडाका अनुसार फिफाको नियमअनुसार प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगिताको म्यान अफ द सिरिजले नगद पाँच हजार पाउने छन्। यस्तै, मेन अफ दि म्याचले दुई हजार पाउने छन्। आयोजकले जिम्मेवारी बाँडफाँड गर्दै प्रतियोगितालाई भव्य बनाउन विभिन्न ९ वटा उपसमिति गठन गरेको छ।
आर्थिक समितिमा तुलसी विमली, प्रचार(प्रसार समितिमा रमेश मैनाली, टिम व्यवस्थापन समितिमा दिलकुमार कार्की, खेलाडी व्यवस्थापन समितिमा नकुल देव आले मगरलाई जिम्मेवारी प्रदान गरिएको अध्यक्ष खतिवडाले बताए।
यस्तै, मैदान व्यवस्थापन समितिमा कैलाश कार्की, अतिथि सत्कार समितिमा श्यामकुमार राई, मञ्च व्यवस्थापनमा रविन ढुंगाना र सांस्कृतिक उपसमितिमा रमेशकुमार कार्कीलाई जिम्मेवारी प्रदान गरिएको आयोजक समितिले जानकारी दिएको छ। आयोजकले प्रतियोगिता सम्पन्न गर्न पाँच लाख छ हजारको आम्दानी खर्चको अनुमान सार्वजनिक गरेको छ।
कनकाई नगरपालिकाले खेलकुदका लागि आर्थिक बर्ष ०७७र०७८ मा ५० लाख बजेट विनियोजन गरे पनि कनकाई भेट्रान क्लबले आयोजना गर्न लागेको प्रथम संस्करणको प्रतियोगितामा ६१ हजारमात्र उपलब्ध गराउन लागेको आयोजक समितिले गुनासो गरेको छ।
नगरपालिकाले खेलकुद र नगरका भेट्रान खेलाडीलाई उपेक्षा गरेको आयोजकहरूले आरोप लगाएका छन्। ‘पछिल्ला संस्करणहरू पनि आयोजना गर्ने लक्ष्यका साथ आयोजकले तयारी गरेको छ। तर, नगरपालिकाले अपेक्षा भन्दा न्यून रकम दिएर प्रतियोगिता सम्पन्न गर्न आयोजकलाई चुनौती थपिदिएको छ,’ आयोजक समितिका अध्यक्ष खतिवडाले भने।
यता कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले प्रतियोगिता सम्पन्न गर्नका लागि पालिकाले प्रदान गर्ने भनिएको रकममा पुनर्विचार गर्न सकिने बताएका छन्। आयोजक समितिका साथीहरूसँग समन्वय गरेर पालिकाले कम्तीमा प्रथम पुरस्कार प्रदान गर्न सकिनेछ,’ नगर प्रमुख पोखरेलले भने।