कचनकवलमा इँटा उद्योगीको दादागिरी कायमै, खेतीयोग्य जमिनदेखि खोलासम्मको चरम दोहन
माछापोखरीका नाममा जथाभावी माटो उत्खनन
(पार्थ मण्डल) झापा। धान सुपर जोन क्षेत्र दक्षिणी झापाको कचनकवल गाउँपालिका सञ्चालित इँटा उद्योगहरूले खेतीयोग्य तथा खोला क्षेत्र नै मास्ने गरी माटो खन्दै दोहन गरिरहेको पाइएको छ।
कचनकवल गाउँपालिका ६ स्थित चण्डी इँटा उद्योगले खेतीयोग्य जमिन खरिद गर्दै जथाभावी माटो खन्दै गरेको घटना बाहिरिएसँगै गाउँपालिकाभित्र सञ्चालित इँटा उद्योगहरूको टाइम्स अफ प्रदेशकर्मीले स्थलगत रिपोर्टिङका क्रममा यस्तो भेटिएको हो।
इँटा उद्योगीहरूले खेतीयोग्य जमिन र खोला मास्दासमेत कचनकवल गाउँपालिका मौन देखिएको छ। गाउँपालिकाभित्र र पालिकाबाहिर सञ्चालित इँटा उद्योगीहरूले दिनहुँ जेसिभी प्रयोग गरिरहेका छन्। जमिन खनेर टिपरमा हालेर माटो लैजाँदासमेत स्थानीय जनप्रतिनिधि रमिते बनेका स्थानीय किसानले आरोप लगाउँदै आएका छन्।
कचनकवल वडा नम्बर ५, ६ र ७ मा ६ वटा चिम्नीबाट पाँच वटा इँटा उद्योग सञ्चालित छन्। नुर आलमको ज्योति इँटा उद्योग, अजिम आलम र सैफुदिन हकको एसबिआइ इँटा उद्योग, नुर आलमकै प्रेम इँटा उद्योग, विष्णु घिमिरेको चण्डी इँटा उद्योग र रहिम आलमको स्टार इँटा उद्योग सञ्चालनमा छ।
इँटा बनाउने चाहिने मुख्य कच्चा पदार्थ भनेकै माटो हो, ती उद्योगहरूले त्यही आसपासका खेतीयोग्य जमिन, खोला तथा खोला आसपासका क्षेत्र खनेर माटो प्रयोग गर्दै आइरहेको छ।
गाउँपालिकामा सञ्चालित इँटा उद्योगले कहाँबाट कसरी माटो खनिरहेको छ यसको कुनै लेखाजोखा नरहेको स्थानीय कनक राजवंशीले बताए। ‘गाउँपालिकाले यस रोकथाम गर्नुपर्ने हो,’ उनले भने, ‘किसानको कुरा जनप्रतिनिधिले नसुन्दा माटो दोहन नरोकिएको हो, यसको परिणाम बर्खाको बेला अवश्य यहाँका जनताले भोग्नुपर्छ।’
नियमविपरीत माटो खन्दै इँटा उद्योगी
खोलासँगै रहेको सरकारको ऐलानीजमिन समेत इँटा उद्योगी नछाडेको किसानहरूले बताएका छन्। वडा नम्बर ६ र ७ को सीमा पर्ने वडझोडा पैनी अहिले खोलामा परिणत भएको छ।
पैनी नजिकै सञ्चालित चण्डी इँटा उद्योगले स्थानीय किसान भक्तबहादुर कटवालको निजी जमिन र पैनीको माटो निकालेर निजी जमिन पुर्नुका साथै उद्योगमा समेत प्रयोग गरिरहेका छन्।
चण्डी उद्योगलाई मैले नै जमिन बिक्री गरेको हो, किसान कटुवालले भने, ‘अहिले उद्योगले शक्तिको दुरुपयोग गरेर नियमविपरीत मेरो जमिन र खोला खन्दै छ, उद्योगीलाई जमिन बिक्री गर्नु नै मेरो ठूलो गल्ती भयो, सुनवाइ काहीँबाट हुँदैन।’
जथाभावी खेतीयोग्य जमिन खन्दा सय मन धान फल्ने खेलमा २५ मन पनि उत्पादन हुन नसकेको उनले गुनासो गरे। उद्योगी घिमिरेले खोला नियमविपरीत खनेपछि त्यहाँका किसानले गाउँपालिकामा मौखिक जानकारीसमेत गराएका थिए।
किसानले जानकारी गराएपछि गाउँपालिकाकी उपाध्यक्ष निमसरी राजवंशीसहितको टोली घटनास्थल पुगेर खोलाको अवलोकन पनि गरेका थिए। अवलोकन क्रममा खोला मासेको पाइएपछि त्यसलाई ढाकछोप गर्न उद्योगी घिमिरेले अहिले जेसिभी प्रयोग गरेर धमाधम खोला मिलाउने काममा गरिरहेका रिपोटिङ क्रममा भेटिएको छ।
खोला नजिकै यसअघि उद्योगीले निजी जमिन खनेर पोखरी नै बनाइसकेका छन्। त्यसलाई उनले त्यत्तिकै छाडिएको देखिन्छ। उनी भन्छन्, ‘खनिएको स्थानमा माछा पोखरी बनाउँछु।’ यता सरकारी पैनीबाट माटो काटेको विषयमा तत्काल इँटा उद्योगी घिमिरेलाई बोलाएर सचेत गराइएको उपाध्यक्ष राजवंशीले बताइन्।
खोला क्षेत्र नै मासियो
वडा नम्बर ७ स्थित गाउँपालिकाको भवन निर्माणस्थल नजिकैबाट बग्ने वडझोडा खोलासमेत इँटा उद्योगीहरूले मासेका छन्। बर्खा बेला डुबान हुने त्यस खोला आसपासका क्षेत्रको माटो ज्योति इँटा उद्योगले अवैध रुपमा उत्खनन गरेको स्थानीयले आरोप लगाएका छन्। उद्योगले खोला नजिकै जथाभावी जेसिभी प्रयोग गरेर उत्खनन गर्दा खोलाको स्वरूप नै परिवर्तन भएको छ।
त्यस खोला आसपासमा उद्योगीकै निजी जमिन छ। जमिनसँगै खोला बग्छ। तर, अहिले खोलाको र जमिनको गहिराइ एउटै भएको छ। जनप्रतिनिधिकै आडमा उद्योगीहरूले जथाभावी खोला मासिरहेका छन्। इँटा उद्योगको दादागिरीका कारण केही गर्न नसकिएको वडा नम्बर ७ का वडा अध्यक्ष भरतकुमार राजवंशी बताउँछन्। गाउँपालिकामा पटक–पटक जानकारी गराउँदा पनि त्यहाँबाटै असहयोग भएका कारण उद्योगीले जथाभावी माटो दोहन गरिरहेको उनले बताए।
माछा पोखरीको नाममा जथाभावी माटो उत्खनन
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाले गत आर्थिक वर्ष २०७६/७७ देखि कचनकवल गाउँपालिकामा प्रधानमन्त्री आधुनिकीकरण परियोजना, मत्स्य उत्पादन ब्ल्क कार्यक्रम सुरु गर्यो।
प्रदेश १ सरकारअन्तर्गत रहेको केन्द्रले गत आर्थिक वर्षमा मत्स्य उत्पादन बल्क कार्यक्रमका लागि ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर, कोरोना भाइरस सङ्क्रमणका कारण ३० लाख बजेट मात्र खर्च भएको केन्द्रकी नायव प्राविधिक सहायक केदारकुमारी अधिकारी (कल्पना)ले जानकारी दिइन्।
ब्ल्क कार्यक्रममा त्यहाँका १३ जना किसानले केन्द्रबाट अनुदान लिएका उनको भनाइ छ। त्यसबाहेक निजी लगानीमा माछापोखरी खनेर मत्स्यपालन गर्नेको विवरण केन्द्रमा नभएको उनी बताउँछिन्।
मत्स्य उत्पादन ब्ल्कमा सहभागी किसानले पोखरी खन्दा १ मिटरदेखि साढे दुई मिटर (३ फिटदेखि ८ फिट सम्म) खन्नुपर्छ। तर, गाउँपालिकामा माछापोखरीका नाममा जमिन ८ फिटभन्दा मुनिसम्म खनिएको पाइएको छ।
त्यहाँबाट निस्किएको सबै माटो इँटा उद्योगीलाई बेच्न गरेको पाइएको छ। पोखरी खनिएका स्थान डुबान क्षेत्र पनि पर्छ। तर, त्यसको रोकथाममा गाउँपालिकाले कुनै मापदण्ड अपनाएको छैन। माटो कारोबारीले उद्योगीलाई टिपरको १८ सयदेखि २५ सयसम्ममा माटो बिक्री गर्ने गरेको स्थानीय बताउँछन्।
उत्खनन गर्ने कार्यविधि नै छैन गाउँपालिकामा
कृषि उत्पादन क्षेत्र भएकोले त्यसको संरक्षण तथा प्रवर्द्धन गर्न प्रमुख दायित्व स्थानीय सरकारको हो। जथाभावी खेतीयोग्य जमिन र खोला दहन गरेर माटो उत्खनन गर्दै आए पनि त्यसलाई रोक्न गाउँपालिकाले कुनै कार्यविधि बनाएको छैन।
निजी जमिनको माटो उत्खनन तथा ओसारपसार सम्बन्धी कार्यविधि स्थानीय तहले नै बनाउनुपर्ने हो। माटोको सहज आपूर्ति गर्ने, सतह नमिलेको खेतीयोग्य जमिनको सतह मिलाउने, माछा पोखरी निर्माण गर्दा बढी भएको माटो बिक्री वितरण गर्नेलगायत कार्यलाई व्यवस्थित र नियमित गर्न कार्यविधि तयार पारी कार्यान्वयन गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४, १ नम्बर प्रदेश सरकार नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५ अनुसार उत्खनन र ओसारपसार कार्यविधि बनाउनुपर्ने हो।
तर, त्यस्तो कुनै कार्यविधि गाउँपालिकामा नहुँदा इँटा उद्योगीले मनपरी माटो उत्खनन गरी प्रयोग गर्नुका साथै माटो कारोबारीले पनि गाउँपालिकालाई कुनै राजश्व तिर्ने गरेका छैन। माटोसमेत अन्य पालिकामा बेचिरहेका छन्। गाउँपालिकाकी उपाध्यक्ष निमसरि राजवंशी उत्खनन कार्यविधि पालिकाले नबनाएकाले यो घरेलु तथा साना उद्योग कार्यालयले हेर्ने भनी पन्छिन्।
गाउँपालिकाले देखाएनन् चासो
चण्डी इँटा उद्योगीले जथाभावी खेतीयोग्य जमिन खन्न थालेपछि त्यहाँका किसान विरोधमा उत्रिएका छन्। किसानहरूले न्यायका लागि कचनकवल गाउँपालिकालाई लिखित निवेदन दिएको छ। किसान कार्तिक राजवंशी, भर्दिया राजवंशी, यादवप्रसाद दाहाल, अमृतलाल राजवंशीले चैत ४ गते गाउँपालिकाको न्यायिक समितिलाई न्याय दिलाऊ पाउँ भनी निवेदन दिएका हुन्।
तर, गाउँपालिकामा दिएको निवेदनको हालसम्म सुनवाइ नभएको उनीहरू बताउँछन्। न्यायिक समिति संयोजक तथा गाउँपालिकाकी उपाध्यक्ष राजवंशीले त्यस विषयमा छलफल गरी टुंगो लगाउन नसकेपछि गाउँपालिकाका अध्यक्ष अञ्जार आलम समक्ष घटना पुगेको हो।
तर, अध्यक्ष आलमले त्यस विषयमा खासै चासो देखाएका छैनन्। उनले कार्यपालिका बैठकमा यस विषयमा छलफल गर्ने भनी किसानलाई आश्वासन दिँदै आएका निवेदनकर्ता भर्दिया राजवंशीको आरोप छ।
किसानले बुझाएको निवेदन पत्रमा भनिएको छ– गाउँपालिका ६ बस्ने हामी किसानहरूको जमिनको साँध सिमानामा चण्डी इँटा उद्योगले मनपरी खेतको माटो खनी मापदण्डविपरीत लैजानु र मलिलो जमिनलाई रूखो बनाउने कार्य गरेका उद्योगलाई कारबाही गरियोस्।'