२०८३ बैशाख ३ गते , विहीबार

अलैँची व्यवसायी महिलालाई क्षमता अभिवृद्धि तालिम

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र २६ गते , विहीबार
अलैँची व्यवसायी महिलालाई क्षमता अभिवृद्धि तालिम

झापा । अलैँची व्यवसाय तथा खेतीमा आबद्ध महिलाहरूका लागि झापामा तीन दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ ।
नेपाल अलैँची व्यवसायी महासंघअन्तर्गतको ठूलोृ अलैँची प्रवर्द्धनका लागि महिला सञ्जालको आयोजना र बिर्तामोड नगरपालिकाको सहयोगमा तालिम सञ्चालन भएको हो । 
बुधवार एक समारोहका बिच बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईँले उद्घाटन गरेको तालिम शुक्रवारसम्म सञ्चालन हुने बताइएको छ ।
सञ्जालकी सचिव सङ्गीता चिमरियाले सञ्चालन र कोषाध्यक्ष सुमित्रा भट्टराईले स्वागत गरेको उद्घाटन गरेको समारोहमा प्रमुख अतिथि उपप्रमुख प्रसाईँले आयमूलक व्यवसाय तथा खेतीमा महिलाको संलग्नता प्रेरणादायक रहेको बताउँदै सबै क्षेत्रका महिलाहरूको क्षमता अभिवृद्धि आजको आवश्यकता रहेको उल्लेख गरे । उनले तालिमबाट प्राप्त ज्ञान व्यवहारमा उपयोग गर्न पनि आग्रह गरे । तालिमको सहजीकरण सङ्गीता थापाले गरिरहेकी छिन् । तालिममा मारवाडी समुदायका महिलाको उल्लेख्य सहभागिता रहेको छ ।
सञ्जालकी अध्यक्ष सुषमा भण्डारी पौडेलले सञ्जालको उद्देश्य बारे प्रकाश पार्दे अलैँची व्यवसाय तथा खेतीमा संलग्न महिलाले पनि पुरुषसरह काम गर्न सकुन्, सार्वजनिक स्थानमा डर सङ्कोचबाट माथि उठ्न सकुन् भन्ने उद्देश्यले सञ्जालको गठनसँगै क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको बताए । उनले तयारी अलैँचीको ग्रेडिङ, कटिङजस्ता काममा मजदुरको रुपमा काम गरिरहेका महिलाहरूका लागि पनि क्षमता तथा सिप विकासका तालिम सञ्चालन गरिने जानकारी दिए ।
उद्घाटनका अवसरमा बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश सिवाकोटी, उद्यमी महिला महासंघ झापाकी अध्यक्ष गोमा भट्टराई, नेपाल अलैँची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराई, महासचिव सुवास भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
तालिममा झापालगायत पूर्वी पहाडी जिल्लाका ३० जना महिला अलैँची व्यवसायी तथा किसानको सहभागिता रहेको महासङ्घका कार्यालय प्रमुख अनिल ढुङ्गानाले जानकारी दिए । 
यसअघि महासङ्घले अलैँचीमा आबद्ध महिलाहरूका लागि इलामको मङ्गलबारेमा अलैँचीको बोटबाट हस्तकलाका सामग्री निर्माण सम्बन्धी ९ दिने प्रशिक्षण सम्पन्न गरिसकेको छ भने सोही प्रकारको प्रशिक्षण महासङ्घको शाखा रहेका अलैँची उत्पादन हुने अन्य जिल्लामा पनि सञ्चालन गर्ने योजना रहेका ढुङ्गानाको भनाइ छ । 

सम्बन्धित समाचार