२०८३ बैशाख ३ गते , विहीबार

बिर्तामोडका सम्पूर्ण साप्ताहिक हाटबजार बन्द, २५ जना भन्दा बढी जम्मा हुन नपाइने

कोरोनाको दोस्रो लहर  

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र १७ गते , मंगलबार
बिर्तामोडका सम्पूर्ण साप्ताहिक हाटबजार बन्द, २५ जना भन्दा बढी जम्मा हुन नपाइने

झापा । बिर्तामोड नगरपालिकाले नगर क्षेत्रभित्र लाग्ने सम्पूर्ण साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरेको छ । छिमेकी मुलुक भारतका विभिन्न राज्यमा कोरोना भाइरसको दोस्रो लहर देखिएपछि सरकारले पुनः जारी गरेको स्वास्थ्य मापदण्डको निर्देशनलाई मध्यनजर गर्दै बिर्तामोड नगरपालिकाले यस्तो निर्णय गरेको हो ।

नगर स्तरीय कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण समन्वय समितिका संयोजक तथा मेयर धुव्रकुमार शिवाकोटीको अध्यक्षतामा मङ्गलवार बसेको बैठकले दोस्रो लहरको कोरोना संक्रमण नगरभित्र फैलिन नदिन साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका फोकल पर्सन ओम खड्काले जानकारी दिए । उनका अनुसार नगरभित्र बुधबारे हटिया, बिर्ताबजार , गरामनी , सैंनिक बजार, चारपाने, चैतुबारीलगायतका स्थानमा साप्ताहिक हाटबजार लाग्ने गरेको छ ।

ती सबै हाटबजार लाग्न नदिने निर्णय गरिएको खड्काले बताए । त्यस्तै नगरभित्र २५ जनाभन्दा बढी मानिसको भिडभाड हुन नदिन पनि बैठकले निर्णय गरेको छ । २५ जना भन्दा बढी उपस्थिति हुने खालका कार्यक्रम, बैठक , सेमिनार, गोष्ठीजस्ता कार्यक्रममाथि पनि रोक लगाउने निर्णय गरिएको उनले बताए । बैठकमा स्वास्थ्य मन्त्रालय र जिल्ला प्रशासन कार्यालय झापाबाट जारी स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरू नगरभित्र पालना गर्ने र गराउने, अनिवार्य मास्क लगाउने, सेनिटाइजार प्रयोग गर्ने , सामाजिक दुरी कायम गर्ने, भिडभाड नगर्नेजस्ता निर्णयहरू गरिएको छ ।

बैठकमा नगरपालिका उपमेयर पवित्रा महतारा प्रसाईँ, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल, बिर्तामोड १० का वडा अध्यक्ष दुर्योधन गुरुङ, नेकपा एमालेका ज्ञानुराम प्रसाईँ, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक गौतम योञ्जन , इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक विजय कार्की ,जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रकाश जवेगु , बिर्तामोड उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष कुमार भट्टराईलगायतको उपस्थिति रहेको थियो । जिल्लाकै मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा हालसम्म ७०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । त्यसमध्ये १३ जनाको सङ्क्रमणबाट मृत्यु भएको जनाइएको छ । जिल्लाका १५ वटा स्थानीय तहमध्ये बिर्तामोड नगरपालिकाले पहिलो पटक साप्ताहिक हाट बजार बन्द गर्ने निर्णय गरेको छ । भारतीय सीमा क्षेत्रसँग जोडिएका पालिकाहरूमा अहिलेसम्म भिडभाड रोक्ने र साप्ताहिक हाटबजार बन्द गर्ने कुनै निर्णय गरेका छैनन् । 

सम्बन्धित समाचार