२०८३ बैशाख ३ गते , विहीबार
ताप्लेजुङमा टिपर दुर्घटना : सह-चालकको मृत्यु, दुई जना गम्भीर
ताप्लेजुङ । ताप्लेजुङमा टिपर दुर्घटना परी एक जनाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् । पाथीभरा याङबरक गाउँपालिका ४ डुम्रिसे स्थित थुम्बेदिन डुम्रिसे सडक खण्डमा सोमबार राती १० बजे प्रदेश ३-०१-०५ ख ९२७१ नम्बरको बालुवा लोड भएको टिपर बाटो मोड्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको थियो ।
सडकबाट अन्दाजी २५ मिटर तल खस्दा टिपर चालक सिन्धुली कमल माई ४ बस्ने २४ वर्षीय यामकुमार बिक, सहचालक लमजुङ दोर्दि ६ किर्तीगाँउ बस्ने १८ वर्षीय कृष्ण बिक र ताप्लेजुङ पाथीभरा याङबरक २ थेचम्बु बस्ने २० वर्षीय मन्दिप लिम्बु घाइते भएका थिए ।
घाइते मध्ये सहचालक बिकलाई उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा राती ११ बजे मृत्यु भएको थियो । घाइते अन्य दुई जनाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।