कनकाई देशकै उत्कृष्ट नगरपालिका घोषित
झापा । कनकाई नगरपालिका देशकै अन्य नगरपालिका मध्ये उत्कृष्ट नगरपालिका बन्न सफल भएको छ । नेपाल नगरपालिका संघको २८औं बार्षिक साधारणसभाको अवसरमा देशमा उत्कृष्ट तीन वटा नगरपालिका मध्ये कनकाई नगरपालिका पनि पर्न सफल भएको हो ।संघको बुधबार आयोजित सभामा कनकाई नगर प्रमुख राजेन्द्र पोखरेल र उपप्रमुख मञ्जु प्रसाईलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कदर पत्रसहित पुरस्कृत गरेका छन् । त्यसैगरी रुपन्देहीको तिलोत्तमा, स्याञ्जाको वालिङ नगरपालिका पनि उत्कृष्ट नगरपालिकामा परेका छन् । तीन वटै नगरपालिका लाई प्रधानमन्त्री को हातबाट पुरस्कृत गरिएको संघका अध्यक्ष असोक व्याञ्जुले बताए ।
व्याञ्जुका अनुसार कनकाई, रुपन्देहीको तिलोत्तमा र स्याञ्जाको वालिङ नगरपालिकालाई विभिन्न सूचकका आधारमा उत्कृष्ट घोषणा गरिएको थियो । ती नगरपालिकाहरुलाई वातावरण, सुशासन र वित्तीय क्षेत्रमा उत्कृष्ट काम गरेको भनेर पुरस्कृत गरिएको छ ।
होटल र्याडिसनमा भएको कार्यक्रममा अपांगता भएका व्यक्तिहरुको जीवन सहज बनाउनका लागि रोटरी क्लबसँग करिब आठसय वटा ह्विल चेयर र केही डाइलोसिस मेसिन दिने सम्झौता भएको छ ।