हल्दिबारीको लक्ष्मी माविमा लफडा, प्रधानाध्यापक नियुक्तको माग गर्ने शिक्षकको सरुवा !

हल्दिबारी । आफ्नो विद्यालयमा दरबन्दी बढाई दिन विद्यालय व्यवस्थापन समितिले माग गर्नु नियमित र प्रक्रियागत काम हो । तर, भएको दरबन्दी व्यवस्थापन समितिले नै कटौती गर्न माग गरेका घटनाहरु भने विरलै हुन्छन् । त्यस्तै काम गरेको छ– हल्दिबारी–३स्थित लक्ष्मी माध्यमिक विद्यालयले ।
प्रावि तहका शिक्षक प्रधानाध्यापक रहेर मावि तह सञ्चालित लक्ष्मी माविको मावि तह तृतीय श्रेणीका शिक्षक रामप्रसाद घिमिरेले शिक्षा ऐन, नियमावली र निर्देशिका बमोजिम प्रधानाध्यापक नियुक्त गर्न माग गरेसंगै विद्यालय व्यवस्थापन समितिले दरबन्दी नै कट्टा गर्ने गरी शिक्षक सरुवाका लागि गाउँपालिकाको शिक्षा शाखामा माग गरेको थियो ।
विद्यालय व्यवस्थापन समितिले विद्यालयमा मावि तहको दरबन्दी कट्टा गरी सरस्वती आधारभूत विद्यालय हल्दिवारी–१ का शिक्षक मदन पोखरेललाई विद्यालयमा फर्काउन माग गरेको थियो । नेकपा समर्थित उनलाई व्यवस्थापन समितिको माग अनुसार लक्ष्मी माविमा फर्काउने र फरक आस्था राख्ने शिक्षकलाई योग्यता अनुसारको जिम्मेवारी दिनुको सट्टा व्यवस्थापन समितिले दरबन्दी नै कटाउन र प्रधानाध्यापकको माग गर्ने शिक्षकको समेत सरुवा गर्न भनेको थियो । घिमिरेले गत फागुन ११ गते आफूलाई प्रधानाध्यापकमा नियुक्ति गर्न विद्यालय व्यवस्थापन समिति समक्ष माग गरेका थिए । मावि तहका शिक्षक भए पनि बिगत ३ वर्षदेखि प्रावि तहका प्रधानाध्यापकको मातहतमा रहेर शिक्षण गर्दै आएको घिमिरेले बताए ।
विद्यालय व्यवस्थापन समितिको माग अनुसार हल्दिबारी गाउँपालिकाको यही चैत–५ गते बसेको बैठकले बहुमतका आडमा दरबन्दी कट्टा र शिक्षक सरुवाको निर्णय गरेको बुझिएको छ । स्रोतका अनुसार ५ वटा वडा रहेको हल्दिबारी गाउँपालिकाका ३ जना वडाध्यक्षहरुले उक्त मागप्रति असहमति जनाउँदै बैठक छोडेर बाहिरिएपछि बहुमतका आडमा दरबन्दी कट्टासहित शिक्षक सरुवाको निर्णय गरेको हो । उक्त निर्णयमा गाउँपालिका अध्यक्षले समेत असहमति जनाएका छन् । हल्दिबारी गाउँपालिकामा नेकपा एमालेको बहुमत छ ।
विद्यालयमा भएको दरबन्दी समेत कट्टा र शिक्षक सरुवा शिक्षा ऐन विपरीत भएको भन्दै नेपाल शिक्षक संघ हल्दिबारीले निर्णय सच्याउन माग गरेको छ । निर्णय सच्याउन माग गर्दै संघले गाउँपालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाएको संघले शिक्षा शाखा र शिक्षा विकास तथा समन्वय इकाईमा ज्ञापन पत्रको बोधार्थ समेत दिएको जनाएको छ ।
विद्यालयमा कार्यरत मावि तहका तृतीय श्रेणीका स्थायी शिक्षक घिमिरेले प्रधानाध्यापक नियुक्तिको माग गरेसँगै बसेको विद्यालय व्यवस्थापन समितिको पहिलो बैठकले स्टाफसंगको राय सल्लाहमा निर्णय लिने निर्णय पुस्तिकामा उल्लेख गरेको थियो । त्यसपछि स्टाफसहित बसेको बैठकमा बरिष्ठताका आधारमा घिमिरेलाई प्रधानाध्यापक नियुक्तिका पक्षमा शिक्षकहरुको राय, सल्लाह विपरीत विद्यालय व्यवस्थापन समितिले गाउँपालिकाको शिक्षा शाखालाई दरबन्दी कटौती र शिक्षक सरुवा गर्न सिफारिस गरेको दस्तावेजले देखाउँछ ।
शिक्षक घिमिरेको मागबारे शिक्षकहरुको सल्लाह र सुझावका लागि प्रावि तहका प्रअ कृष्णप्रसाद दाहालको अध्यक्षतामा बैठक बसेको भएपनि घिमिरेका पक्षमा शिक्षकले धारणा राखेपछि प्रअ दाहालले उक्त बैठकको निर्णय पुस्तिकामा हस्ताक्षर देखिँदैन ।
विद्यालय व्यवस्थापन समिति समक्ष पेश गरिएको निर्णय साथै राय विपरीत विद्यालय व्यवस्थापन समितिले विद्यालयको दरबन्दीसहित कट्ट गर्ने निर्णय शिक्षा ऐन, नियमावली र निर्देशिका विपरीत भएको नेपाल शिक्षक संघ हल्दिबारीले ठहर गरेको ज्ञापन पत्रमा उल्लेख छ ।
उक्त विद्यालयमा कार्यरत घिमिरे माविको उच्च तहको एकमात्र शिक्षक रहेको दावी गर्दै शिक्षक संघले घिमिरेलाई प्रधानाध्यापक नियुक्ति गर्न निर्देशनात्मक आदेश समेत दिन गाउँपालिका समक्ष माग गरेको छ । नेपाल शिक्षक संघ हल्दिबारीका अध्यक्ष कृष्णप्रसाद बन र सचिव नरनाथ राजवंशीले हस्ताक्षर गरेको ज्ञापन पत्रमा निर्णय नसच्चिए आन्दोलनको अवस्था आउन सक्नेतर्फ ध्यानाकर्षण गराउँदै भनिएको छ– ‘शिक्षक, अभिभावक, विद्यार्थी लगायत सरोकारवालाको हित प्रचलित ऐन, नियम तथा निर्देशिका विपरीत गरिएको निर्णयको विरोधमा आगामी थप कार्यक्रमहरु तय गरी बाध्यात्मक रुपमा आन्दोलन गर्ने अवस्था श्रृजना हुने भएकोले आन्दोलनबाट उत्पन्न हुने शैक्षिक क्षति तथा विद्यार्थी तथा अभिभावकमा गर्ने हानी नोक्सानीकोे जवाफदेहीताको जिम्मा यस निकायले लिनुपर्नेछ ।’
आफ्ना मान्छेको इच्छा पूरा गर्न नीति नियमको कुनै वास्तै नगर्ने गरेको शिक्षक बोधकृष्ण पौडेलले बताए । विद्यालय भित्रको वेथिति बाहिर लगेमा सन्देश राम्रो नजाने भन्दै चुप लागेर बस्दा बस्दै नीति नियम, ऐन कानून विपरीत मनपरी हुन थालेको नाम नखोल्ने शर्तमा अर्का एक शिक्षकले बताए ।
लक्ष्मी माविको प्रअको दावी गर्दै नियुक्ति माग्ने घिमिरे मावि दरबन्दीका तृतीय श्रेष्णीका एकमात्र शिक्षक हुन् भने हालका प्रअ कृष्णप्रसाद बन प्रावि तहका हुन् । त्यसै गरी विद्यालय व्यवस्थापन समितिले माग गरेका पोखरेल आधारभूत तहका शिक्षक हुन् ।