अलैँचीको बोटबाट हस्तकलाका सामग्री, आत्मनिर्भर बन्दै महिला
झापा । फोहोरलाई पनि मोहोरमा परिणत गर्न सकिन्छ भन्ने उदाहरण यति बेला पूर्वी पहाडी जिल्लाका महिलाहरूले प्रस्तुत गरिरहेका छन् ।अलैँची उत्पादन हुने पहाडी जिल्लाका महिलाहरूले अलैँची टिपिसकेपछि खेर जाने बोटलाई उपयोग गर्दै आर्थिक रुपमा आत्मनिर्भरताको बाटो रोजेका हुन् ।
ताप्लेजुङकी लघु उद्यमी माया गुरुङले आफ्नै सीप लगाएर अलैँचीको बोटको सराबाट हस्तकलाका सामग्री उत्पादन गरी त्यसको बिक्रीबाट सन्तोषजनक आम्दानी गरेको थाहा पाएपछि अरू महिला पनि अलैँचीको सराबाट हस्तकलाका सामग्री बनाउन हौसिएका छन् । पराल, मकैका खोसेला जस्ता वस्तुबाट विभिन्न घरायसी सामग्री बनाउँदै आएकी गुरुङले परीक्षणका रुपमा अलैँचीको सराबाट पनि त्यस्ता सामग्री बनाएको र पहिलो पटक नै सफल भएकोले यसलाई निरन्तरता दिएको बताइन् । उनले अलैँचीका खेर जाने बोट किसान महिला तथा पुरुषका लागि आम्दानीको दर्बिलो स्रोत बन् नसक्ने बताइन् । उनले ताप्लेजुङका सो सीप सिकाएर धेरै महिलालाई काम दिएको पनि उल्लेख गरिन् ।
अलैँचीको सराबाट पिर्का, झल्ला, साना–साना डालो, कप, पर्सजस्ता सामग्री बनाउन सकिने छ भने त्यस्ता सामग्री निकै टिकाउ र बलियो पनि हुने गरेको गुरुङको भनाइ छ । गुरुङले देशका विभिन्न मेला–प्रदर्शनीमा अलैँचीको सराबाट निर्मित हस्तकलाका सामग्री प्रदर्शन र बिक्री गर्ने गरेपछि यसतर्फ सरोकारवाला निकायहरूले पनि चासो दिएका छन् ।
यसैक्रममा, उनै माया गुरुङलाई प्रशिक्षक राखेर इलाममा यससम्बन्धी तालिम सुरु गरिएको छ । प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्र्तगको व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रले नेपाल अलैँची व्यवसायी महासङ्घको समन्वयमा इलामको मङ्गलबारेमा मङ्गलवार सुरु गरेको ९ दिने आधारभूत तालिममा प्रशिक्षण लिन इलामको दूर दराजबाट आएका अलैँची किसान महिलाको उल्लेख्य सहभागिता रहेको छ । फोहोरलाई मोहोरमा बदल् नसक्ने विश्वासका साथ तालिममा सहभागी हुन घण्टौँ पैदल यात्रा गरेर आफूहरू आएको सहभागीहरूले बताएका छन् ।
नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा मङ्गलवार प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम रानाले उद्घाटन गरेका थिए । उनले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा परिणत गर्दै अलैँचीका खेर जाने गरेका बोटलाई आयआर्जनको माध्यम बनाउन सहभागीहरूलाई आग्रह गरे । उनले तालिम उपलब्धिमूलक बनाउनुपर्नेमा जोड दिँदै त्यसो हुन सके थप कार्यक्रम सञ्चालन गरिने बताए ।
महासङ्घका कार्यालय प्रमुख अनिल ढुङ्गानाले सञ्चालन गरेको उद्घाटन समारोहमा महासङ्घका संस्थापक अध्यक्ष राजेन्द्रकुमार घिमिरे, महासङ्घका उपाध्यक्ष इन्द्र चन्द न्दिल, महासङ्घकी महिला समिति संयोजक सुषमा पौडेल, केन्द्रीय सदस्य एवम् अलैँची निर्यातकर्ता सुजित वंशल, तालिम केन्द्र प्रमुख अरुणकुमार घिमिरेलगायतले तालिम प्रभावकारी हुने र सहभागी महिलाहरूले अलैँचीको बोटबाट निर्मित हस्तकलाका सामग्रीको व्यवसाय विस्तार गर्दै आत्मनिर्भर बन्ने विश्वास व्यक्त गरे ।
यस प्रकारको तालिम अन्य जिल्लामा पनि सञ्चालन गर्न सहभागीहरूले सुझाव दिएका थिए । पछिल्लो केही वर्षयता बहुमूल्य कृषिस्तु अलैँचीको मूल्यमा लगातार गिरावट आउँदा निराश बनेका किसान तथा व्यवसायीलाई यो सीपले विकल्प दिन सक्ने महासङ्घका अध्यक्ष कार्कीले बताए । निर्यातकर्ता वंशलले अलैँचीको बोटबाट निर्मित हस्तकलाका सामग्रीको नेपालमै छिमेकी भारतसम्म बजार प्रवर्द्धनका लागि सहायेग गर्ने बताएका छन् ।