नायिका शुष्मा कार्कीले हालिन श्वेता खड्काविरुद्ध प्रहरीमा उजुरी
काठमाडौं । नायिका शुष्मा कार्कीले अर्की नायिका श्वेता खड्काविरुद्ध मंगलबार प्रहरीमा उजुरी हालेकी छन्। श्वेताले आफूमाथि दुर्व्यवहार गरेको र उनकी बहिनी आरतीले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएकी हुन् ।
तर झगडाको प्रमुख पात्र युट्युबुर उत्सव रसाइली भएको नायिका कार्कीले सञ्चारमाध्यमसँग बताएकी छन्। उत्सवले पनि श्वेताकी बहिनी आरतीले शुष्मालाई एक थप्पड हानेको र कपाल लुछेको सार्वजनिक रूपमा स्वीकार गरेका छन्।
घटना के थियो ?
उत्सवका अनुसार कुरा सोमबार रातिको हो। नायिका श्वेताकी बहिनी आरतीको एनिभर्सरी मनाउन उनीहरू दरबारमार्गको लन्डन पब क्लबमा भेला भएका थिए। त्यही क्लबमा आएकी शुष्मासँग उनको जम्काभेट भयो।
त्यस क्रममा शुष्माले उत्सवलाई श्वेतालगायत नायिकालाई मात्र ‘हाइलाइट’ गरेको तर आफूलाई ‘सपोर्ट’ नगरेको भनेर निहुँ खोजिन्। यत्तिकैमा उनीहरूबीच झगडा भयो। यही क्रममा श्वेता पक्ष आएर हस्तक्षेप गरेको हो।
नायिका शुष्माले भने उत्सवले आफूलाई जहिले ‘डाउन’ गरेर बोलिराख्ने गरेको र भेटेका बेला त्यसो नगर भनेर अनुरोध गर्दा विवाद भएको दाबी गरेकी छन्। त्यस क्रममा ‘श्वेता खड्काका मान्छेहरू आएर आफूलाई हरासमेन्ट गरेको र आरती खड्काले त हातपातै गरेको’ शुष्माको भनाइ छ।
उता उत्सव रसाइलीले भने विवादका क्रममा शुष्माले जातीय रुपमा होच्याउने गाली गरेको सहन नसकेर श्वेताकी बहिनी आएर उनीसँग झगडा गरेको दाबी गरेका छन्। त्यस क्रममा धकेलाधकेल भएको उनको भनाइ छ। तर श्वेता खड्काले शुष्मालाई कुनै अपमान नगरेको उनको दाबी छ। शुष्माले पनि झगडाका प्रमुख पात्र उत्सव र आरती नै भएको बताएकी छन्।
उत्सवले सार्वजनिक रूपमा भनेका छन्, ‘उहाँले त्यहाँ भएका कलाकारहरूलाई तथानाम गाली गर्नुभयो। मलाई पनि तँ ‘कामी’ यस्तो गर्ने भन्दै जातीय हिसाबले गाली गर्नुभयो।’