कचनकवलमा आगलागी, घरसँगै जलेर राजवंशीको मृत्यु
झापा । झापाको कचनकवलमा एक जनाको जलेर मृत्यु भएको छ । आगलागीमा परेर मृत्यु हुनेमा कचनकवल गाउँपालिका १ स्थित घेराबारी बस्ने अन्दाजी ५५ वर्षीय गोवर्धन राजवंशी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार एक तले काठको खम्बा टिनको बेरा र टिनकै छानो भएको घरमा सोमबार बिहान अचानक आगलागी भएको थियो ।
घरभित्रै सुतेका राजवंशीको जलेर मृत्यु भएको जनाइएको छ । आगलागीमा परी उनको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ, भने एउटा माउ गाई, दुई वटा बाछा र तिन वटा बाख्रा समेत जलेर मरेको प्रहरीले जनाएको छ ।
यता घरमा आगो लागेको स्थानीय थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीसहित भद्रपुर र बिर्तामोड ।नगरपालिकाको दुई वटा दमकल र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । घरमा के कारणले आगो लागेको भन्ने खुलेको छैन । मानवीय र पशुको क्षतिबाहेक अन्य विवरण आइ नसकेको प्रहरीले जनाएको छ । घर जलेपछि राजवंशी परिवार विस्थापित भएका छन् ।