२०८३ मंसीर ९ गते , मंगलबार

विश्वमा ४७ हजारभन्दा बढी महिला तथा बालिकाको हत्या, हरेक घण्टा पाँच जनाको मृत्यु

sajilo news
रासस
२०८३ मंसीर ९ गते , मंगलबार
विश्वमा ४७ हजारभन्दा बढी महिला तथा बालिकाको हत्या, हरेक घण्टा पाँच जनाको मृत्यु

काठमाडौँ । विश्वभर सन् २०२५ मा ४७ हजारभन्दा बढी महिला तथा बालिकाको हत्या उनीहरूकै घनिष्ठ साथी वा परिवारका सदस्यबाट भएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले देखाएको छ । यसको अर्थ औसतमा हरेक घण्टा पाँच महिला तथा बालिकाले आफन्त वा नजिकका व्यक्तिबाट ज्यान गुमाएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय महिला संस्था र लागुऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार पछिल्ला केही वर्षयता घनिष्ठ साथी वा परिवारका सदस्यबाट मारिने महिला तथा बालिकाको सङ्ख्या ४५ हजारदेखि ५१ हजारको बीचमा रहँदै आएको छ ।

महिलाविरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसअघि सार्वजनिक प्रतिवेदनअनुसार सन् २०२५ मा जानाजानी हत्या गरिएका ७८ हजार महिला तथा बालिकामध्ये करिब ६० प्रतिशतको हत्या घनिष्ठ साथी वा परिवारका सदस्यबाट भएको थियो ।

प्रतिवेदनमा १२२ देश तथा क्षेत्रका तथ्याङ्क विश्लेषण गरी उक्त अनुमान तयार पारिएको उल्लेख छ । सन् २०२५ मा विश्वभर हत्या गरिएका व्यक्तिमध्ये १९ प्रतिशत महिला थिए । हत्या गरिएका महिलामध्ये ६० प्रतिशतको हत्या निजी तथा पारिवारिक परिवेशमा भएको थियो । यसको तुलनामा हत्या गरिएका पुरुषमध्ये ११ प्रतिशत मात्र निजी तथा पारिवारिक परिवेशमा मारिएका थिए ।

क्षेत्रगत रूपमा हेर्दा घनिष्ठ साथी वा परिवारका सदस्यबाट मारिने महिला तथा बालिकाको सङ्ख्या अफ्रिकामा सबैभन्दा बढी २२ हजार १०० रहेको छ । त्यसपछि एसियामा १५ हजार १००, अमेरिकामा सात हजार ४००, युरोपमा दुई हजार १०० र ओसिनियामा ३०० जना मारिएका छन् ।

विश्वव्यापी रूपमा हत्याको दर घट्दै गए पनि महिला हत्याको दरमा आएको गिरावट भने सुस्त रहेको प्रतिवेदनले जनाएको छ । विशेषगरी अमेरिका र युरोपमा महिला हत्याको दर क्रमशः घटिरहेको उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घले घरेलु हिंसा रोक्ने प्रयास घनिष्ठ सम्बन्धमा मात्र सीमित नराखी परिवारका अन्य सदस्यबीच हुने हिंसालाई समेत सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

प्रतिवेदनअनुसार महिला हत्याका घटना सामाजिक मान्यता र लैङ्गिक रूढिवादी सोचमा गहिरोसँग जरा गाडेर बसेका छन् । न्याय प्रणालीसम्म पहुँचमा रहेका अवरोधले पनि यस्ता अपराध नियन्त्रण गर्न कठिन बनाएको छ ।

नारीहत्या भन्नाले महिला तथा बालिकालाई उनीहरूको लिङ्गका आधारमा गरिने हत्यालाई बुझिन्छ । घनिष्ठ साथी वा परिवारका सदस्यबाट हुने हत्याबाहेक सङ्गठित अपराध, जबर्जस्ती श्रम तथा मानव बेचबिखनसँग सम्बन्धित केही हत्या पनि यसमा समेटिन सक्छन् ।

यद्यपि, निजी क्षेत्रबाहिर हुने नारीहत्यासम्बन्धी पर्याप्त तथ्याङ्क उपलब्ध नहुँदा क्षेत्रीय तथा विश्वव्यापी रूपमा यस्ता घटनाको वास्तविक परिमाण आकलन गर्न कठिन रहेको प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित समाचार