अस्पतालबाटै झापाका कैदी फरार
झापा कारागार भद्रपुरमा जेल जीवन बिताइरहेका एक कैदी अस्पतालबाटै फरार भएका छन् । झापाबाट उपचारका लागि मोरङ लगिएका भारतको पश्चिम बङ्गाल, अछाम घर भई हाल झापाको भद्रपुर नगरपालिका–४ मा बस्दै आएका सुमन भन्ने सन्तोष राई फरार भएका हुन् ।
राई २०८२ वैशाख २८ गतेदेखि चोरी मुद्दामा झापा कारागारमा बन्दी जीवन बिताउँदै आएका थिए । बिरामी भएपछि उनलाई गत वैशाख २८ गते झापा कारागारबाट मोरङ कारागार स्थानान्तरण गरिएको थियो । त्यसपछि सोही दिनदेखि विराटनगर महानगरपालिका–७ स्थित क्षयरोग अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
अस्पतालमा उपचाररत राई सोमबार बिहान ७ बजेर १५ मिनेटमा अस्पतालबाट फरार भएको जनाइएको छ । फरार कैदीको खोजीका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको कमान्डमा प्रहरी टोली परिचालन गरिएको छ । उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।