२०८३ मंसीर ८ गते , सोमबार

भद्रपुरको मेची पुलमुनिबाट तस्करी: १५ पोका कपडा बरामद, सुरक्षाकर्मीको सेटिङमाथि प्रश्न

sajilo news
पार्थ मण्डल
२०८३ मंसीर ७ गते , आईतबार
भद्रपुरको मेची पुलमुनिबाट तस्करी: १५ पोका कपडा बरामद, सुरक्षाकर्मीको सेटिङमाथि प्रश्न

झापाको भद्रपुर नगरपालिका–५ स्थित एक निर्माणाधीन घरबाट भारतबाट तस्करी गरी नेपाल भित्र्याइएको १५ पोका लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

भद्रपुर–५ निवासी सुकदेव सहनीको निर्माणाधीन घरको कोठामा लुकाएर राखिएको अवस्थामा ती सामान बरामद गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल भद्रपुर गुल्मका प्रहरी नायव उपरीक्षक (डीएसपी) विजय थापालाई प्राप्त विशेष सूचनाका आधारमा आज बिहान छापा मार्दा सो सामान फेला परेको जनाइएको छ ।

बरामद सामानमा लेडिज लेगिज, पञ्जालगायतका लत्ताकपडा रहेका छन् । ती सामान गएराति भारतबाट मेची नदी हुँदै मेची पुलमुनिबाट तस्करी गरी नेपाल भित्र्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।  वडा प्रहरी कार्यालय भद्रपुर र भद्रपुर भन्सार कार्यालयको नजिकै रहेको घरबाटै तस्करीका सामान बरामद भएपछि सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीको निगरानी र सम्भावित मिलेमतोमाथि गम्भीर प्रश्न उठेको छ ।

सशस्त्र प्रहरीले सामान तस्करीमा संलग्न समूहको पहिचान तथा संलग्न व्यक्तिहरूबारे अनुसन्धान गरिरहेको जनाएको छ । बरामद गरिएका सामान सिधै भद्रपुर भन्सार कार्यालयमा बुझाइएको छ । तर, सामानको वास्तविक परिमाण र मूल्यांकन भने खुलाइएको छैन । यसैबीच, बरामद सामानको मूल्यांकन कम गराएर भन्सार बुझाउन तस्करीमा संलग्न समूहले सशस्त्र प्रहरीमाथि दबाब दिइरहेको बुझिएको छ ।

सम्बन्धित समाचार