२०८३ मंसीर ६ गते , शनिबार

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

sajilo news
सुनसरी
२०८३ मंसीर ६ गते , शनिबार
सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरीमा दुई छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने नेपाल प्रहरीका हवल्दारसहित चार जना घाइते भएका छन् । घाइतेमध्ये प्रहरी हवल्दारसहित दुई जनाको अवस्था गम्भीर छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी गाउँपालिका–८ स्थित कोशी ब्यारेज नजिकै शुक्रबार राति ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख ३४६३ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको को २२ प १६५२ नम्बरको मोटरसाइकललाई राति करिब ८ः३० बजेतिर ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक कोशी–८ का करिब १९ वर्षीय जयप्रकाश यादव गम्भीर घाइते भएका थिए । दाहिने खुट्टा र टाउकोमा चोट लागेका यादवलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको थियो । उनको उपचारकै क्रममा राति ९ः४० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि प्रहरीले ट्रक, मोटरसाइकल र ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका–६ नारायणीका २९ वर्षीय सञ्जय रिजाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । 

त्यस्तै, कोशी राजमार्गअन्तर्गत दुहबी नगरपालिका–८ स्थित पशुपति पेन्ट्स अगाडि शनिबार बिहान मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा चार जना घाइते भएका छन् । घाइतेमध्ये एक जना नेपाल प्रहरीका हवल्दार छन् ।

इटहरीबाट दुहबीतर्फ आउँदै गरेको कोशी प्रदेश ०२–०६२ प ७८७ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ हिँडिरहेका पैदलयात्रीलाई बिहान करिब ३ बजे ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक बर्जु गाउँपालिका–४ सीतागन्जका २० वर्षीय नितेश चौधरी र पछाडि सवार बर्जु गाउँपालिका–५ बेलाहाका २४ वर्षीय अजयकुमार चौधरी घाइते भएका छन् ।

त्यस्तै, मोटरसाइकलको ठक्करबाट रौतहटको चन्द्रपुर नगरपालिका–८ का३४ वर्षीय उदयकुमार चौधरीको दायाँ हात भाँचिएको छ । उनी बोल्न सक्ने अवस्थामा छन् । अर्का घाइते मोरङको जहदा गाउँपालिका–३ का करिब ४० वर्षीय रोहितकुमार राजवंशी हुन् । उनी नेपाल प्रहरीका हवल्दार रहेको खुलेको छ । घाइतेहरुको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

सम्बन्धित समाचार