२०८३ कार्तिक २६ गते , बुधबार

झापामा मैथिली र राजवंशी भाषामा सरकारी कामकाज शुरु

sajilo news
झापा
२०८३ कार्तिक २१ गते , शुक्रबार
झापामा मैथिली र राजवंशी भाषामा सरकारी कामकाज शुरु

कोशी प्रदेश सरकारले मान्यता दिएसँगै झापामा राजवंशी र मैथिली मातृभाषामा सरकारी कामकाज शुरु भएको छ । शिवसताक्षी नगरपालिकाको ५ नं वडा कार्यालयले राजवंशी र मैथिली भाषालाई वडा कार्यालयको कामकाजमा प्रयोग गर्ने घोषणा गरेको हो । कोशी प्रदेश सरकारले नेपालीबाहेक १३ भाषालाई सरकारी कामकाजको मान्यता दिएको हो ।

वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा वडा अध्यक्ष सिकिन पासवानले दुवै भाषालाई कार्यालयको कामकाजमा प्रयोग गर्ने घोषणा गरे । उनका अनुसार वडामा राजवंशी र मैथिली भाषीको उल्लेख्य बसोबास छ । स्थानीयले आफ्नै भाषामा सरकारी सेवा लिन सकून् भन्ने उद्देश्यले यो पहल गरिएको हो ।

अब वडा कार्यालयमा निवेदन, सिफारिस लगायतका काममा नेपालीसँगै राजवंशी र मैथिली भाषा प्रयोग गरिने अध्यक्ष पासवानले बताए । कार्यालयका कर्मचारीले तीनवटै भाषा बोल्न र बुझ्न सक्ने भएकाले सेवा प्रवाहमा समस्या नहुने उनको भनाइ छ ।

कार्यक्रमका प्रमुख अतिथि राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्व सदस्यसचिव कमल राजवंशीले स्थानीय भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने निर्णयलाई ऐतिहासिक पहलका रूपमा व्याख्या गरे ।

विगतमा कोच राज्य रहेको स्मरण गर्दै उनले राजवंशी, ताजपुरिया, गनगाई, धिमाल, कोचे र मेचे समुदायका भाषा तथा संस्कृति संरक्षण गर्नुपर्ने बताए । प्रदेश सरकारले दिएको कानुनी मान्यतालाई व्यवहारमा उतार्न अग्रसर भएकोमा उनले वडा कार्यालयको प्रशंसा गरे ।

कार्यक्रममा पूर्ववडाध्यक्ष सत्यनारायण राजवंशी, नेपाली काँग्रेसका नेता भक्ति सिटौला, राजनारायण राजवंशी र सामाजिक अभियन्ता सूर्यनारायण ताजपुरियालगायतले मातृभाषाको संरक्षण र पुस्तान्तरणमा जोड दिए ।

कोशी प्रदेशसभाले २०८३ असोज २४ मा सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक पारित गरेको थियो । प्रदेश प्रमुखबाट प्रमाणीकरण भई राजपत्रमा प्रकाशित ऐनअनुसार नेपालीसँगै मैथिली, लिम्बू, थारू, तामाङ, मगर, बान्तवा, उर्दू, राजवंशी, राई, नेवार, चाम्लिङ, शेर्पा र सन्थाली भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने व्यवस्था छ ।

सम्बन्धित समाचार