२०८३ कार्तिक २६ गते , बुधबार

भारतका हक्की खेलाडीलाई झापा र इलामका पर्यटकीय क्षेत्रको भ्रमण

sajilo news
झापा
२०८३ कार्तिक १८ गते , मंगलबार
भारतका हक्की खेलाडीलाई झापा र इलामका पर्यटकीय क्षेत्रको भ्रमण

झापाको सदरमुकाम भद्रपुरमा पहिलो पटक आयोजना गरिएको ‘प्रथम अन्तर्राष्ट्रिय नकआउट हक्की प्रतियोगिता २०८३’ मा सहभागी हुन आएका भारतीय खेलाडी तथा निर्णायकहरूलाई झापा र इलामका पर्यटकीय क्षेत्रको अवलोकन–भ्रमण गराइएको छ ।

फाइनल खेलको उपविजेता टिम भारतको आरके रोय अफ हक्की एकाडेमीका खेलाडी तथा प्रतियोगिताका अम्पायर–निर्णायकहरूलाई झापाको धार्मिक पर्यटकीयस्थल अर्जुनधारा जलेश्वरधाम, चन्द्रगढी सामुदायिक वनभित्र रहेको चन्द्रगढी सिमसार क्षेत्र। इलामको हर्कटे र कन्यामको अवलोकन–भ्रमण गराइएको भद्रपुर नगर हक्की संघका अध्यक्ष सरोज वस्नेतलले जानकारी दिए ।

कोशी प्रदेशको आन्तरिक पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउने कार्यक्रमअन्तर्गत बाह्य खेलाडीहरूलाई ती धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन–भ्रमण गराइएको वस्नेतलले बताए । 

भारतीय खेलाडी तथा निर्णायकहरूको टोलीले भ्रमण गराइएको पर्यटकीय स्थलहरूको खुलेर प्रशंसा गरेको र आफ्नो ठाउँमा पुगेपछि अरूलाई पनि भ्रमण गर्न सल्लाह दिने बताएको संघका महासचिव खगेन्द्र ढुङ्गानाले जानकारी दिए । 

भद्रपुर नगर हक्की संघको आयोजनामा यही कात्तिक १३, १४ र १५ गते भद्रपुर–९ पुहाँतु जनज्योति माविको खेल मैदानमा अन्तर्राष्ट्रियस्तरको हक्की प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा भारतका ३ टिमको सहभागिता थियो । तीमध्ये आरके रोय अफ हक्की एकाडेमीले फाइनलसम्मको योत्रा तय गरेको थियो । फाइनलमा आयोजक भद्रपुर नगर हक्की संघसँग ४–२ गालअन्तरले पराजित भएको थियो ।   आयोजक संघले प्रतियोगितालाई केवल खेलमा मात्र सीमित नराखी गीत–सङ्गीत पर्यटनसँग पनि जोडेको थियो । 

सोही अनुसार फाइनलसम्म पुगेको भारतीय टोलीलाई पर्यटकीय क्षेत्रको अवलोकन–भ्रमण गराइएको प्रतियोगिताका प्रमुख सल्लाहकार अनिल ढुङ्गानाले जानकारी दिए । 

 

सम्बन्धित समाचार