भद्रपुरमा छठ पूजाको तयारी सुरु, यादवको संयोजकत्वमा मूल समिति गठन
झापाको भद्रपुरस्थित मेची खोलामा प्रत्येक वर्ष आयोजना हुँदै आएको सार्वजनिक छठ पूजालाई यस वर्ष थप व्यवस्थित, सुरक्षित र भव्य रूपमा सम्पन्न गर्ने तयारी थालिएको छ। यसका लागि आयोजक मैथिली समाजले मूल समितिसहित विभिन्न उपसमिति गठन गरेको छ।
छठ पर्वको तयारी, व्यवस्थापन तथा पूजालाई व्यवस्थित बनाउने विषयमा शनिबार मैथिली समाजको कार्यालय भद्रपुर–६ मा आयोजित भेलाले विभिन्न निर्णय गरेको हो।
मैथिली समाजका अध्यक्ष रमेशचन्द्र झाको अध्यक्षतामा सम्पन्न भेलामा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल प्रमुख अतिथि तथा उपप्रमुख राधा कार्की विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा समाजका सचिव सुशील कर्णले सञ्चालन गरेका थिए भने प्रकाश शर्माले स्वागत मन्तव्य राखेका थिए।
भेलामा नगर प्रमुख पोखरेल, उपप्रमुख कार्की, वडा अध्यक्ष रतिया राजवंशी, पूर्वनगर प्रमुख भारतेन्दुकुमार मल्लिक, झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजकुमार राई, रासबिसका झापा अध्यक्ष उत्तम राजवंशी, पार्टी प्रतिनिधिहरू असारु राजवंशी र राजेन्द्र चापागाईँलगायतले छठ पर्वको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे चर्चा गरेका थिए।
उनीहरूले छठ पर्वलाई भव्य बनाउन धार्मिक आस्था र परम्पराको संरक्षणसँगै पूजा स्थलको सरसफाइ, घाट व्यवस्थापन, विद्युत्, सुरक्षा, स्वयंसेवक परिचालन तथा भक्तजनको सहज आवागमनमा विशेष ध्यान दिनुपर्ने धारणा राखेका थिए।
भेलाले पारसनाथ यादवको संयोजकत्वमा छठ पूजा मूल समिति गठन गरेको छ। समितिको सहसंयोजकमा इन्द्रकान्त झा चयन भएका छन्।
त्यस्तै, अर्थ संकलन उपसमितिको संयोजकमा सुशील कर्ण, घाट व्यवस्थापन तथा सरसफाइ उपसमितिको संयोजकमा विकास गुप्ता, विद्युत् जडान उपसमितिको संयोजकमा कन्हैया झा र प्रचारप्रसार उपसमितिको संयोजकमा प्रकाश शर्मा चयन भएका छन्।
छठ पूजा व्यवस्थापनको अनुगमन तथा निर्देशन नगर प्रमुखले गर्ने र स्वयंसेवक तथा सुरक्षा परिचालनको जिम्मेवारी वडा प्रहरी कार्यालयका प्रमुखलाई दिने निर्णयसमेत भेलाले गरेको मैथिली समाजका अध्यक्ष रमेशचन्द्र झाले जानकारी दिए।
भद्रपुरको मेची खोलामा करिब ६० वर्षदेखि सार्वजनिक रूपमा छठ पूजा हुँदै आएको छ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यो पूजा स्थल पूर्वी नेपालकै ठूलो छठ पूजा स्थलमध्ये एकका रूपमा परिचित छ। यहाँ झापाका विभिन्न स्थानसँगै सीमावर्ती भारतीय क्षेत्रबाट समेत श्रद्धालुहरू छठ पूजा गर्न आउने गरेका छन्।
सूर्यदेव र छठी माताको आराधना गरिने छठ पर्वमा व्रतालुहरूले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने परम्परा छ। विशेषगरी नदी, पोखरी तथा जलाशयका किनारमा घाट बनाएर मनाइने यस पर्वमा सरसफाइ, पवित्रता र सामूहिक सहभागितालाई विशेष महत्त्व दिइन्छ।
पछिल्ला वर्षहरूमा भद्रपुरमा छठ पूजाको विस्तारसमेत हुँदै गएको छ। मेची खोलामा मैथिली समाजको आयोजनामा मुख्य सार्वजनिक पूजा हुँदै आए पनि भद्रपुरको देवीबस्तीमा राजवंशी युवा समाजले छुट्टै पूजा आयोजना गर्दै आएको छ। त्यसैगरी भद्रपुर–७, भद्रपुर–९ र भद्रपुर–१० मा पनि पछिल्ला केही वर्षदेखि अलग-अलग छठ पूजा आयोजना हुन थालेका छन्।
यस वर्षदेखि भद्रपुर–४ स्थित देउनियाँ खोलामा समेत छुट्टै छठ पूजा आयोजना गर्ने तयारी गरिएको छ। यसले नगरका विभिन्न क्षेत्रका श्रद्धालुलाई आफ्नै आसपासको जलाशयमा छठ पूजा गर्न सहज हुने अपेक्षा गरिएको छ।
वर्षौँदेखि धार्मिक सद्भाव, सामाजिक एकता र सांस्कृतिक पहिचानको प्रतीकका रूपमा मनाइँदै आएको छठ पर्वलाई व्यवस्थित बनाउन स्थानीय तह, सामाजिक सङ्घसंस्था र समुदायबीचको सहकार्यलाई महत्त्वपूर्ण मानिएको छ।