झापाका दृष्टिविहीन गायक जेठा मुर्मूको निधन
झापाका दृष्टिविहीन गायक जेठा मुर्मूको निधन भएको छ । झापा नेत्रहीन संघका सदस्य मुर्मूको इटहरीस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको संघका अगुवा दिलकुमार राजवंशीले जानकारी दिएका छन् । उनको निधनको खबरले झापाको दृष्टिविहीन तथा सांगीतिक क्षेत्रमा शोक छाएको छ ।
कचनकवल गाउँपालिका–२ पाठामारीका स्थायी बासिन्दा मुर्मू दृष्टिविहीन भएपनि संगीतप्रतिको रुचि र प्रतिभाका कारण जिल्लामा परिचित थिए । सानैदेखि गीत गाउन रुचाउने उनले कठिन परिस्थितिका बीच आफ्नो अध्ययनलाई निरन्तरता दिएका थिए । उनले कनकाई माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गर्नुका साथै संगीत विषयमा डिप्लोमा कोर्ससमेत पूरा गरेका थिए । सुरिलो स्वरका धनी मुर्मू संगीत प्रशिक्षकका रूपमा समेत चिनिन्थे ।
रोजगारीको अवसर नपाएपछि उनी जीविकोपार्जनका लागि झापाका विभिन्न बजार तथा चोकमा गीत गाउने गर्थे । सडकमा ट्र्याक बजाएर गीत सुनाउँदै सर्वसाधारणबाट प्राप्त सहयोगले परिवारको गुजारा चलाउँदै आएका थिए । उनको गायन प्रतिभा र संघर्षको कथा राष्ट्रिय सञ्चारमाध्यममा समेत प्रकाशित भएको थियो ।
संगीत क्षेत्रमा केही गर्ने सपना बोकेर संघर्ष गरेका मुर्मूले काठमाडौंमा समेत अवसरको खोजी गरेका थिए । तर, अपेक्षित रोजगारी नपाएपछि उनी सडकमा गीत गाउन बाध्य भएका थिए । विभिन्न गीतलाई आफ्नै स्वरमा प्रस्तुत गरेर उनले श्रोताको मन जितेका थिए । गत वर्ष कचनकवल गाउँपालिकासहितको सहकार्यमा उनलाई सडकमा गीत गाउन सहज होस् भनेर साउण्ड सिस्टमसमेत उपलब्ध गराइएको थियो ।