भद्रपुरमा अन्तर्राष्ट्रियस्तरको हक्की प्रतियोगिताको तयारी, सदस्य सचिव घोषद्वारा अवलोकन
झापा । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषले नेपालमा ओझेलमा परेको हक्की खेललाई उजागर गर्दै प्रवर्द्धन गर्ने उद्देश्यले झापाको भद्रपुरमा पहिलो पटक आयोजना हुन लागेको अन्तर्राष्ट्रियस्तरको हक्की प्रतियोगिताको तयारी र व्यवस्थापनका बारे चासोपूर्वक जानकारी लिएका छन् ।
१० औँ राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेशस्तरीय छनोट प्रतियोगिताको सन्दर्भमा शुक्रबार झापा आएका सदस्य सचिव घोषले अपराह्न भद्रपुर-९ स्थित हक्की प्रतियोगिता स्थल तथा हक्की मैदानको अवलोकन गर्दै तयारी बारे जानकारी लिएका हुन् ।
सो अवसरमा सदस्य सचिव घोषले ग्रामीण क्षेत्रमा हक्की खेलको विकास र प्रवर्द्धनमा युवाले देखाएको सक्रियता प्रशंसनीय रहेको बताउँदै कोशी प्रदेशमा हक्की खेलाई प्रोत्साहित गरिने बताएका थिए ।
सदस्य सचिव घोषले यो प्रतियोगिताका लागि पनि बोर्डले बजेटको परिधिभित्र रहेर सहयोग गर्ने प्रतिबद्धता जनाएको भद्रपुर नगर हक्की संघका प्रमुख सल्लाहकार अनिल ढुंगानाले जानकारी दिए । उनका अनुसार सदस्य सचिव घोषले प्रस्ताव लिएर बोर्डको कार्यालयमा आउन भनेका छन् ।
भद्रपुर नगर हक्की संघको आयोजनामा यही कात्तिक १३ देखि १५ गतेसम्म सञ्चालन हुुने अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको तयारी र व्यवस्थापकीय पक्षको अवलोकनका लागि सदस्य सचिव घोषका साथ झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शेखर कँडेल, भद्रपुर झापा गोल्ड कपका अध्यक्ष दीपेश ढकाललगायत खेल क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरू हक्की मैदानमा पुगेका थिए ।
चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह मुख्य प्रायोजक रहेको प्रतियोगितामा भारतका तीन, बङ्गलादेशको एक, विभागीयसमेत नेपालका सात टिम र आयोजक एक टिम गरी १२ टिमको सहभागितामा रहनेछ । फाइभ–एस मोडलमा आयोजना हुने प्रतियोगिताका खेलहरू भद्रपुर–९ पुहाँतुबारीस्थित पुहाँतु जनज्योति माविको खेल मैदानमा संघका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।
प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ नगदसहित शील्ड तथा मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमलाई नगद एक लाखसहित शील्ड तथा मेडल प्रदान गरिने संघले जनाएको छ ।
प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढाइएको हक्की संघका कोशी प्रदेश सदस्य खगेन्द्र ढुंगानाले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका लागि आवश्यक सामग्री जुटाइसकिएको छ भने मैदान मर्मत–सम्भारको काम पनि भइरहेको छ । यसैगरी मञ्च निर्माण र दर्शकका लागि बाँसे प्यरापिट निर्माण पनि भइरहेको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । विजेताको नगद पुरस्कार ओम साई पाथिभरा हस्पिटल भद्रपुरका अध्यक्ष दिपक पोखरेलले सौजन्य गरेका छन् ।