२०८३ कार्तिक २६ गते , बुधबार

झापामा मूर्ति विसर्जन र र्‍यालीमा चर्को आवाजको डीजे बजाउन प्रतिबन्ध

sajilo news
झापा
२०८३ कार्तिक ७ गते , शुक्रबार
झापामा मूर्ति विसर्जन र र्‍यालीमा चर्को आवाजको डीजे बजाउन प्रतिबन्ध

झापामा चाडपर्व, र्‍याली, शोभायात्रा तथा मूर्ति विसर्जनका क्रममा चर्को आवाजमा डीजे बजाउन प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय झापाले आज सूचना जारी गर्दै चर्को आवाजमा डीजे बजाउने तथा धार्मिक र सामाजिक सद्भाव बिथोल्ने गतिविधि नगर्न सबै पक्षलाई निर्देशन दिएको हो ।

प्रशासनले सूचनाको अवज्ञा गरी डीजे बजाएको पाइएमा आयोजक वा सहभागीलाई मात्र नभई डीजे भाडामा दिने व्यक्ति, साउन्ड सिस्टम व्यवसायी तथा डीजे ढुवानी गर्ने सवारीसाधनका धनीलाई समेत प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले मूर्ति विसर्जन तथा शोभायात्राका क्रममा तोकिएको रुट र समयको पूर्ण पालना गर्न आग्रह गरेका छन् । धार्मिक तथा सांस्कृतिक कार्यक्रमका नाममा अन्य धर्मावलम्बीका आस्थाका केन्द्रअगाडि होहल्ला गर्ने, चर्को आवाजमा डीजे बजाउने, अबिरलगायतका सामग्री फ्याँक्ने र उत्तेजक गतिविधि गर्ने कार्य नगर्न प्रशासनले सचेत गराएको छ ।

प्रशासनले मन्दिर, मस्जिद, मदरसा, चर्च तथा गुम्बालगायत अन्य धर्मावलम्बीका धार्मिक स्थलअगाडि नियोजित रूपमा जुलुस रोक्ने, होहल्ला गर्ने वा उत्तेजक प्रदर्शन गर्ने गतिविधि नगर्न पनि निर्देशन दिएको छ । यस्ता गतिविधिले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्न सक्ने भएकाले सबै पक्षलाई संयमित हुन आग्रह गरिएको छ ।

त्यस्तै, जुलुस तथा मूर्ति विसर्जनमा मादक पदार्थ सेवन गरेर सहभागी नहुन र सामाजिक सञ्जालमार्फत भ्रामक तथा साम्प्रदायिक सन्देश नफैलाउन प्रशासनले निर्देशन दिएको छ ।

आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार चाडपर्व तथा धार्मिक(सांस्कृतिक अनुष्ठान मनाउने क्रममा अरूको आस्थामा चोट पुग्ने, सामाजिक सद्भाव खल्बलिने र उक्साहटपूर्ण गतिविधि हुने काम नगर्न तथा नगराउन प्रशासनले सबै पक्षलाई अपिल गरेको छ ।

सम्बन्धित समाचार