२०८३ कार्तिक २६ गते , बुधबार

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, जलेर एकजनाको मृत्यु

sajilo news
झापा
२०८३ कार्तिक ६ गते , विहीबार
बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, जलेर एकजनाको मृत्यु

झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ । आज बिहान ४ः१० बजे बिर्तामोड नगरपालिका–२ रामचोकस्थित बडी ग्यारेजको क्यान्टिनमा विद्युत् सर्ट भई आगलागी हुँदा क्यान्टिनमा काम गर्ने गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार ध्रुव भट्टराईको जग्गामा रहेको टिनको छानो भएको घरमा बिर्तामोड नगरपालिका–४ निवासी रवि राजवंशीले सञ्चालन गरेको बडी ग्यारेज (ठूला सवारीसाधन मर्मत केन्द्र)को क्यान्टिनमा आगलागी भएको थियो ।

आगलागीबाट क्यान्टिनभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा, तीन वटा खसीबाख्रा र नगद एक लाख रुपैयाँसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घटनाबाट क्यान्टिनतर्फ करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । 

त्यसैगरी, बडी ग्यारेजसँगै जोडिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल तथा टायल्सको गोदाममा समेत सामान्य क्षति पुगेको छ । आगो निभाउने क्रममा दमकलको पानीले गोदामभित्र रहेका करिब २० देखि २५ बोरा सिमेन्ट भिज्दा २५ हजार रुपैयाँ बराबरको क्षति भएको छ । सुरक्षाकर्मी, दमकल र स्थानीयवासीको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार