२०८३ कार्तिक २६ गते , बुधबार

झापामा बाउन्सरको दादागिरी रोक्न प्रशासनको कडा निर्देशन, सञ्चालक र आयोजकसमेत कारबाहीमा पर्ने

sajilo news
झापा
२०८३ कार्तिक ५ गते , बुधबार
झापामा बाउन्सरको दादागिरी रोक्न प्रशासनको कडा निर्देशन, सञ्चालक र आयोजकसमेत कारबाहीमा पर्ने

झापामा सुरक्षाका लागि खटाइएका निजी सुरक्षा गार्ड तथा बाउन्सरहरूले नै सर्वसाधारणमाथि हातपात गर्ने, कुटपिट गर्ने र विवाद सिर्जना गर्ने घटना बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले कडा निर्देशन जारी गरेको छ । सुरक्षा र भीड नियन्त्रणको जिम्मेवारी पाएका बाउन्सरहरू आफैं झैझगडामा संलग्न हुन थालेपछि प्रशासनले उनीहरूलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएको हो ।

जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले कुनै पनि निजी सुरक्षाकर्मी वा बाउन्सरले सर्वसाधारण नागरिकमाथि हातपात, कुटपिट, अभद्र व्यवहार वा झैझगडा गरेको पाइएमा संलग्न व्यक्ति मात्र नभई उनलाई परिचालन गर्ने निजी सुरक्षा कम्पनीका सञ्चालक र सम्बन्धित आयोजकलाई समेत प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने बताएका छन् ।

खासगरी होटल तथा डान्सबारमा खटाइएका बाउन्सरका कारण पटक–पटक झैझगडा र विवादका घटना हुने गरेको प्रशासनको भनाइ छ । यस्ता घटनाहरू दोहोरिन थालेपछि प्रहरी प्रशासनले कडाइ गर्नुपरेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

प्रशासनले मेला, पर्व, सपिङ सेन्टर, अस्पताललगायत सार्वजनिक स्थलमा खटिने निजी सुरक्षाकर्मी तथा बाउन्सरले सुरक्षा वा भीड नियन्त्रणको नाममा सर्वसाधारणमाथि हातपात गर्ने, धम्क्याउने, बल प्रयोग गर्ने वा झैझगडामा संलग्न हुने कार्यलाई कडाइका साथ निषेध गरेको छ ।

कार्यस्थल वा मेला परिसरमा कुनै व्यक्तिबाट अवाञ्छित गतिविधि, विवाद वा होहल्ला भएमा निजी सुरक्षागार्ड तथा बाउन्सर आफैं झगडामा सामेल हुन वा बल प्रयोग गर्न नपाउने निर्देशनमा उल्लेख छ । त्यस्तो अवस्था आएमा तत्काल कार्यस्थलमा खटिएको प्रहरी वा नजिकको प्रहरी कार्यालयमा खबर गरी सम्बन्धित व्यक्तिलाई प्रहरीको जिम्मा लगाउनुपर्नेछ ।

त्यस्तै, निजी सुरक्षा कम्पनीका सञ्चालक तथा सम्बन्धित मेला वा संस्थाका व्यवस्थापकले आपराधिक पृष्ठभूमि नभएका र आवश्यक तालिम प्राप्त व्यक्तिलाई मात्र सुरक्षामा खटाउनुपर्नेछ । सुरक्षाकर्मीलाई परिचालन गर्नुअघि नागरिकसँग शिष्ट र मर्यादित व्यवहार गर्न आवश्यक पूर्वअभिमुखीकरण गराउनुपर्ने प्रशासनको निर्देशन छ ।

कार्यस्थलमा खटिने प्रत्येक निजी सुरक्षागार्ड तथा बाउन्सरले तोकिएको पोसाक लगाउनुपर्ने र सम्बन्धित कम्पनीको आधिकारिक परिचयपत्र स्पष्ट देखिने गरी अनिवार्य रूपमा धारण गर्नुपर्नेछ । मेला, महोत्सव तथा ठूला कार्यक्रमहरूमा निजी सुरक्षागार्ड वा बाउन्सर परिचालन गर्दा स्थानीय प्रहरी तथा प्रशासनसँग आवश्यक समन्वय गरी जानकारी गराउनुपर्ने पनि निर्देशन दिइएको छ ।

झापामा डेढ सय हाराहारी बाउन्सर परिचालित

झापामा निजी सुरक्षा सेवा प्रदान गर्ने कम्पनीहरूको संख्या उल्लेख्य रहे पनि सबै कम्पनीको व्यवस्थित अभिलेख नरहेको बताइएको छ । जिल्लामा २५ वटाभन्दा बढी निजी सुरक्षा कम्पनी सञ्चालनमा रहेको अनुमान छ । ती कम्पनीमार्फत करिब डेढ सय बाउन्सर विभिन्न होटल, डान्सबार तथा अन्य प्रतिष्ठानमा परिचालित रहेको बताइएको छ ।

निजी सुरक्षाको नाममा खटाइएका व्यक्तिहरूको योग्यता, तालिम, पृष्ठभूमि र परिचालन प्रक्रियामाथि पर्याप्त निगरानी नहुँदा समस्या उत्पन्न भएको सरोकारवालाहरूको भनाइ छ । सुरक्षाका लागि राखिएका व्यक्तिहरू नै विवादको कारण बन्न थालेपछि उनीहरूको परिचालन र गतिविधिमाथि नियमन आवश्यक देखिएको छ ।

बिर्तामोडका होटल र डान्सबारमा पटक–पटक विवाद

बिर्तामोड क्षेत्रका केही होटल तथा डान्सबारमा बाउन्सरको व्यवहारलाई लिएर पटक–पटक विवाद हुने गरेको छ । गन्तव्य क्लबमा भएका घटनाका कारण बाउन्सर विवादमा पर्दै आएको छ । केही महिनाअघि स्टार डान्सबारमा पनि बाउन्सरका कारण झैझगडा भएको थियो ।

त्यसैगरी तृष्णा, डीडब्लु र नाइटलाइफजस्ता डान्सबारमा समेत बाउन्सरले ग्राहकलाई कुटपिट गरेको आरोपसँग सम्बन्धित विवादका घटना सार्वजनिक भएका छन् । मनोरञ्जनका लागि पुगेका ग्राहक र सुरक्षामा खटिएका व्यक्तिबीच विवाद उत्पन्न हुँदा त्यसले  सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठाउने गरेको छ ।

होटल तथा डान्सबारमा मात्र नभई अन्य सार्वजनिक स्थलमा पनि निजी सुरक्षाकर्मीको व्यवहारलाई लिएर प्रश्न उठ्ने गरेको छ । गत वर्ष होटल किंग्सबेरीमा बाउन्सरले एक अमेरिकी महिलामाथि हातपात गरेको घटना सार्वजनिक भएको थियो । त्यसैगरी बीएण्डसी अस्पतालमा सुरक्षागार्डहरूले बिरामीका भिजिटरमाथि आक्रामक व्यवहार गरेको घटना पनि विवादमा आएको थियो ।

यी घटनाले निजी सुरक्षाकर्मीको जिम्मेवारी, व्यवहार र परिचालन प्रणालीमाथि प्रश्न उठाएका छन् । सुरक्षा दिने जिम्मेवारीमा रहेका व्यक्तिबाटै नागरिक असुरक्षित हुने अवस्था आउन नदिन प्रशासनले निर्देशन कार्यान्वयनमा कडाइ गर्नुपर्ने देखिन्छ ।

निर्देशन उल्लङ्घन गरी सर्वसाधारणमाथि दुर्व्यवहार वा कुटपिट गर्ने कार्यमा संलग्न भएमा सम्बन्धित व्यक्ति मात्र नभई त्यसलाई परिचालन गर्ने कम्पनी र आयोजकसमेत कानुनी कारबाहीको दायरामा पर्ने चेतावनी प्रशासनले दिएको छ ।

सम्बन्धित समाचार