२०८३ कार्तिक २६ गते , बुधबार

चाडपर्व सुरक्षा : झापामा सशस्त्र प्रहरी सक्रिय, ड्रोनदेखि स्निफिङ डगसम्म परिचालन

sajilo news
पार्थ मण्डल
२०८३ कार्तिक ४ गते , मंगलबार
चाडपर्व सुरक्षा : झापामा सशस्त्र प्रहरी सक्रिय, ड्रोनदेखि स्निफिङ डगसम्म परिचालन

झापा । झापामा दशैं तथा तिहार लगायत चाडपर्वलाई लक्षित गर्दै सशस्त्र प्रहरीले जिल्लाका सीमावर्ती क्षेत्रदेखि मुख्य राजमार्गसम्म प्रविधियुक्त सुरक्षा व्यवस्था सक्रिय बनाएको छ । सशस्त्र प्रहरीले चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि, अवैध ओसारपसार तथा सम्भावित विपद्का घटना न्यूनीकरण गर्ने उद्देश्यले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सचिन कर्माचार्यले जानकारी दिए । 

‘एसपी कर्माचार्यका अनुसार चाडपर्व लक्षित विशेष सुरक्षा योजना अन्तरगत सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मेला, महोत्सव तथा धार्मिक र सांस्कृतिक स्थलमा ड्रोनमार्फत निगरानी र सूचना संकलन गर्ने व्यवस्था मिलाइएको छ । सीमावर्ती इलाका तथा अन्य संवेदनशील स्थानमा आवश्यक स्रोतसाधनसहित सुरक्षाकर्मी परिचालन गरिएको छ।

चाडपर्वका समयमा नेपाली नागरिक तथा नेपाल प्रवेश गर्ने पर्यटकको सुरक्षित र सहज आवागमन सुनिश्चित गर्न सीमा नाकाका सात स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको बताउँदै एसपी कर्माचार्यले भने, 'विपद्मा परेका नागरिक तथा सेवाग्राहीको उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले सहायता कक्षसमेत सञ्चालनमा ल्याइएको छ।'

काँकडभिट्टा सीमा नाकामा अवैध हातहतियार, विस्फोटक पदार्थ तथा लागूऔषध पहिचान गर्न सक्ने तालिमप्राप्त स्निफिङ डग (के–९ टिम) समेत परिचालन गरिएको छ । यसबाट सीमा क्षेत्रमा हुने अवैध गतिविधिको निगरानी र नियन्त्रणलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको उनको भनाई छ । 

आपराधिक गतिविधि तथा विपद्को जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा सचेतनामूलक माइकिङ र सीमावासीसँग अन्तरक्रिया कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ। यस्ता कार्यक्रममार्फत नागरिकलाई सुरक्षा सतर्कता अपनाउन तथा शङ्कास्पद गतिविधिबारे जानकारी गराउन आग्रह गरिएको उनले बताए । 

त्यसैगरी, झापा जिल्लाका मुख्य तथा सहायक राजमार्गमा हुन सक्ने घटना र दुर्घटना न्यूनीकरणका साथै तत्काल उद्धार कार्यलाई प्रभावकारी बनाउन तीन स्थानमा एम्बुलेन्ससहितको आकस्मिक उद्धार टोली परिचालन गरिएको छ।

गोप्रो क्यामेरासहित परिचालित बोर्डर इन्टरएक्सन टिम (बीआईटी)ले पनि सीमा क्षेत्रमा निगरानी तथा चेकजाँचलाई तीव्रता दिएको छ। उक्त टोलीले सीमा क्षेत्रमा आवतजावत गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सहजीकरण गर्ने, मानव बेचबिखन नियन्त्रण तथा उद्धार गर्ने र प्रतिबन्धित लागूऔषध, वन्यजन्तु तथा अन्य अवैध सामग्रीको ओसारपसार निगरानी र नियन्त्रण गर्ने कार्य गरिरहेको उनले बताए । 

विशेष सुरक्षा योजनाअन्तर्गत झापाका विभिन्न स्थानमा दैनिक २० वटा चेकपोइन्ट सञ्चालन गरिएका छन्। त्यस्तै, १६ स्थानमा पैदल तथा मोबाइल गस्ती, पाँच स्थानमा पिकेट र तीन वटा क्विक रेस्पोन्स टिम (क्यूआरटी) परिचालन गरिएको छ। यसका अतिरिक्त एम्बुलेन्ससहितका तीन वटा विपद् उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ। आपत्कालीन अवस्था वा विपद्मा परेका नागरिकले सहयोगका लागि सशस्त्र प्रहरी बल, नेपालको टोल फ्री नम्बर १११४ तथा सीमा हटलाइन नम्बर ९८५१२६०७३० मा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको जनाइएको छ । 

 

सम्बन्धित समाचार