अर्जुनधाराका सात परिवारको वर्षौंदेखिको प्रतीक्षा पूरा, हातमा पर्यो लालपुर्जा
झापा अर्जुनधारा नगरपालिका-११ का सात अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण गरिएको छ। जिल्ला भूमि समस्या समाधान समिति झापाको तर्फबाट आवश्यक प्रक्रिया पूरा गरी अव्यवस्थित बसोबासी सात परिवारलाई कुल १–४–५ बिघा जग्गाको स्वामित्वको लालपुर्जा वितरण गरिएको हो ।
अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोमदेन तामाङको अध्यक्षतामा सम्पन्न लालपुर्जा वितरण कार्यक्रमको प्रमुख आतिथ्यता झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा भूमि समस्या समाधान समितिका संयोजक श्रवणकुमार पोखरेलले गरेका थिए । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार जिल्ला भूमि समस्या समाधान समितिमा ६२ हजारभन्दा बढी भूमिहीन दलित , भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले भूमि प्राप्तिका लागि आवेदन दिएका छन् । भूमिहीन दलिततर्फ २ हजार ८९३ जनाले निवेदन दिएका छन् भने भूमिहीन सुकुम्बासीतर्फ १५हजार ७ २८ जनाले निवेदन दिएका छन् । त्यस्तै अव्यवस्थित बसोबासीतर्फ झन् ठूलो सङ्ख्यामा ४१ हजार ६६६ जनाले निवेदन दिएको स्थिति छ।
जिल्लाका सबै १५ वटा स्थानीय तहको नेतृत्वमा सक्रियताका साथ छानबिन भइरहेको जनाउँदै प्रचलित कानुन बमोजिम मिल्ने निवेदनकर्ताहरूलाई समितिको क्षमताको आधारमा उच्च प्राथमिकताका साथ लालपुर्जा वितरण गरिने प्रमुख जिल्ला अधिकारी तथा भूमि समस्या समाधान समितिका संयोजक पोखरेलले बताएका छन् ।
आज लालपुर्जा पाउने अव्यवस्थित बसोबासीहरूमा अर्जुनधारा ११ का सुनिता बिक, रेणुका देवी दर्जी , राहन सिंह याखा , सरिता दर्जी , बसन्तकुमार तामाङ , मुशान सुब्बा र रत्नबहादुर इङ्नाम गरी सात परिवार रहेका छन्। ती सात परिवारलाई ८ हजार २२४ वर्गमिटर जग्गाको लालपुर्जा उपलब्ध गराइएको हो ।