बिचौलिया नियन्त्रणदेखि डिजिटल सेवासम्म, झापाका सीडीओले सार्वजनिक गरे प्रगति
झापा । जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्रवणकुमार पोखरेलले पदभार सम्हालेको एक महिनाको अवधिमा गरिएका प्रमुख कार्य तथा प्रशासनिक सुधारका प्रयास सार्वजनिक गरेका छन्।
बिहीबार जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा सीडीओ पोखरेलले आफ्नो एकमहिने कार्यकालको प्रगति विवरण प्रस्तुत गर्दै प्रशासनिक सेवालाई चुस्त, पारदर्शी र जनमुखी बनाउन विभिन्न अभियान सञ्चालन गरिएको जानकारी दिएका हुन्।
उनका अनुसार सर्वसाधारणले सरकारी सेवा लिन अनावश्यक ढिलासुस्ती व्यहोर्नु नपरोस् भन्ने उद्देश्यले ‘शून्य बाँकी आवेदन’ अभियान सञ्चालन गरिएको छ। यसअन्तर्गत बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म सेवा प्रवाह गर्ने र दर्ता भएका आवेदन सोही दिन फर्छ्योट गर्ने व्यवस्था मिलाइएको उनले बताए।
त्यस्तै, सेवाग्राहीलाई बिचौलियाको झन्झटबाट मुक्त गराउँदै सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन फेसलेस सेवा तथा अनलाइन भुक्तानी प्रणालीलाई प्रोत्साहन गरिएको उनले जानकारी दिए। डिजिटल माध्यमबाट सेवा उपलब्ध गराउँदा प्रशासनिक प्रक्रिया थप पारदर्शी हुने र नागरिकले सहज रूपमा सेवा प्राप्त गर्न सक्ने उनको अपेक्षा छ।
चाडपर्वलाई लक्षित गरी सर्वसाधारणलाई राहत पुर्याउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको पनि सीडीओ पोखरेलले बताए। बजारमा हुने अनियमितता नियन्त्रण गर्न अनुगमनलाई तीव्र पारिएको उल्लेख गर्दै उनले उपभोक्ताको हित संरक्षण र उपभोक्तामैत्री बजार निर्माणका लागि प्रशासनले पहल गरिरहेको जानकारी दिए।
यसैगरी, विभिन्न आन्दोलन तथा घटनाक्रमका क्रममा घाइते भएका ‘जेनजी’ आन्दोलनका घाइतेहरूको तथ्याङ्क सङ्कलन गरी प्रोफाइल तयार पारिएको उनले बताए। घाइतेहरूको विवरण व्यवस्थित गर्ने उद्देश्यले तथ्याङ्क सङ्कलन तथा अभिलेखीकरणको काम गरिएको उनको भनाइ थियो।
कार्यक्रममा सीडीओ पोखरेलले आसन्न चाडपर्वको शुभकामना व्यक्त गर्दै जिल्लामा शान्ति सुरक्षा कायम गर्ने, सुशासन प्रवर्द्धन गर्ने र नागरिकलाई पारदर्शी तथा प्रभावकारी सेवा उपलब्ध गराउने कार्यमा जिल्ला प्रशासन कार्यालय प्रतिबद्ध रहेको बताए।
सरकारी सेवा प्रवाहमा हुने ढिलासुस्ती न्यूनीकरण, बिचौलियाको प्रभाव नियन्त्रण, डिजिटल सेवाको विस्तार तथा बजार अनुगमनलाई प्राथमिकता दिँदै प्रशासनलाई नागरिकमैत्री बनाउने प्रयास गरिएको उनको एकमहिने प्रगति विवरणले देखाएको छ।