अर्जुनधारामा आगलागी, साढे चार लाख बराबरको क्षति
झापाको अर्जुनधारामा गोठमा आगलागी हुँदा दुईवटा चौपाया जलेर मर्नुका साथै साढे चार लाख बराबरको क्षति भएको छ । आज बिहान करिब १०ः१० बजे अर्जुनधारा नगरपालिका–६ प्रगति टोल बस्ने टिकाराम बिष्टको काठको बेरा र टिनको छाना भएको गाईगोठमा आगलागी भएको हो । गोठमा खोले पकाउने क्रममा अचानक सल्किएर आगलागी भएको जनाइएको छ ।
आगलागीबाट गोठमा रहेको १५ हजार मूल्यको एउटा बाख्रा र २५ हजार मूल्यको अर्को खसी जलेर मरेको हो । त्यस्तै एउटा गाई सामान्य घाइते भएको छ। दुईवटा गाई र दुईवटा बाछालाई उद्धार गरिएको थियो । त्यस्तै सो आगलागीबाट एक बिघा खेतको परालको कुन्यू पूर्णरूपमा जलेर नष्ट हुँदा जम्मा चार लाख पचास हजार बराबरको क्षति भएको अनुमान गरिएको छ। घटनाको जानकारी पाउनासाथ प्रहरी टोली, स्थानीयवासी र बिर्तामोड नगरपालिकाको दमकलको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।