बिर्तामोड प्रहरीको सक्रियता: हराएका १६ थान मोबाइल खोजेर धनीलाई जिम्मा, १३ लाख बढी रकम फिर्ता
हराएका तथा चोरी भएका मोबाइल फोन खोजेर सम्बन्धित धनीलाई फिर्ता गराउने र अनलाइन ठगीमा परेका नागरिकको रकम फिर्ता गराउने कार्यलाई प्राथमिकता दिँदै इलाका प्रहरी कार्यालय अनारमनीले शान्ति सुरक्षा कायम गर्ने अभियानलाई सक्रिय बनाएको छ ।
प्रहरीले विभिन्न मिति, समय र स्थानबाट हराएका तथा चोरी भएका मोबाइल फोनसम्बन्धी प्राप्त निवेदनमाथि खोजतलास र प्राविधिक विश्लेषण गरी फेला पारेका १६ थान मोबाइल फोन सम्बन्धित धनीलाई फिर्ता गरेको छ । कार्यालयले बिहीबार एक कार्यक्रमका बीच मोबाइल धनीहरूलाई फोन हस्तान्तरण गरेको हो ।
प्रहरीले फिर्ता गरेका मोबाइलमध्ये रेडमीका पाँच, सामसुङका तीन, भिभोका तीन, रियलमीका दुई, टेक्नोका दुई र वानप्लसको एक थान रहेका छन् । विभिन्न स्थानबाट मोबाइल फोन फेला पार्न सफल भएपछि सम्बन्धित निवेदकलाई कार्यालयमै बोलाएर हस्तान्तरण गरिएको इलाका प्रहरी कार्यालय अनारमनिका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।
हराएका मोबाइल फोन खोजेर फिर्ता गराउने कार्यले नागरिकको सम्पत्तिको सुरक्षा मात्र नभई प्रहरीप्रतिको विश्वाससमेत बढाउने अपेक्षा गरिएको छ । मोबाइल फोन हराएपछि कतिपय नागरिकले त्यसमा रहेका व्यक्तिगत विवरण, सम्पर्क नम्बर तथा अन्य महत्त्वपूर्ण सामग्री गुमाउने जोखिमसमेत बेहोर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा प्रहरीले प्राविधिक विश्लेषण र खोजतलासमार्फत मोबाइल फेला पारेर धनीलाई बुझाउनु नागरिकलाई प्रत्यक्ष राहत दिने कामका रूपमा लिइएको छ ।
मोबाइल फोन खोजतलाससँगै अनलाइन ठगीमा परेका नागरिकको रकम फिर्ता गराउने कार्यमा पनि कार्यालयले सक्रियता देखाएको छ । चालु आर्थिक वर्ष २०८३–०८४ मा विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी अनलाइन ठगीमा परेका १७ जना निवेदकको कुल १३ लाख ११ हजार छ सय रुपैयाँ सम्बन्धित व्यक्तिको बैंक खातामा फिर्ता गराइएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै अनलाइन कारोबार, प्रलोभनमा पार्ने सन्देश र विभिन्न बहानामा रकम माग्ने प्रवृत्तिले नागरिक ठगीमा पर्ने जोखिम बढाएको छ । इलाका प्रहरी कार्यालय अनारमनिका प्रहरी नायब उपरीक्षक पाठकले समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरीको सक्रियतासँगै नागरिकको साथ र सहयोग पनि उत्तिकै आवश्यक रहेको बताएका छन् । प्रहरी एक्लैको प्रयासले मात्र अपराध नियन्त्रण सम्भव नहुने उल्लेख गर्दै उनले अपराध रोकथाम तथा अनुसन्धानमा नागरिकको सहयोग महत्त्वपूर्ण हुने बताए ।
उनले विशेषगरी चाडपर्वको समयमा चोरीका घटना बढ्न सक्ने भएकाले सर्वसाधारणलाई सचेत र सजग रहन आग्रह गरेका छन् । घर छाडेर बाहिर जाँदा ढोका, झ्याल तथा अन्य प्रवेशद्वार सुरक्षित राख्ने, बहुमूल्य सामानको उचित सुरक्षा गर्ने, अपरिचित व्यक्तिप्रति सजग रहने र मोबाइल फोन तथा अन्य सामग्रीको सुरक्षामा ध्यान दिनुपर्ने उनको सुझाव छ ।
त्यसैगरी सामाजिक सञ्जालमा आउने शङ्कास्पद सन्देश, आकर्षक उपहार वा नाफाको प्रलोभन, अपरिचित व्यक्तिले पठाएका लिङ्क तथा अनलाइन कारोबारका नाममा मागिने रकमप्रति विशेष सावधानी अपनाउनुपर्ने डीएसपी पाठकको भनाइ छ । कुनै पनि व्यक्तिलाई पुष्टि नगरी व्यक्तिगत विवरण, बैंक खातासम्बन्धी जानकारी वा गोप्य सङ्केत उपलब्ध गराउँदा ठगीको जोखिम बढ्न सक्ने भएकाले नागरिकले डिजिटल कारोबारमा समेत सतर्कता अपनाउन आवश्यक रहेको बताइएको छ ।
प्रहरी नायब उपरीक्षक पाठकले शान्तिपूर्ण समाज निर्माणका लागि नागरिक र प्रहरीबीच सहकार्य हुनुपर्नेमा जोड दिँदै कुनै शङ्कास्पद गतिविधि देखिएमा वा आफू ठगीमा परेमा समयमै प्रहरीलाई जानकारी गराउन आग्रह गरेका छन् ।
चाडपर्वका समयमा बजारमा चहलपहल बढ्ने, मानिसको आवतजावत बाक्लिने र घरपरिवारका सदस्य विभिन्न काममा व्यस्त हुने भएकाले चोरी तथा ठगीका घटनाबाट जोगिन व्यक्तिगत सतर्कता आवश्यक हुन्छ । नागरिकले सामान्य सावधानी अपनाउने, घटनाबारे समयमै जानकारी गराउने र प्रहरीलाई आवश्यक सूचना उपलब्ध गराउने हो भने अपराध नियन्त्रण तथा अनुसन्धानमा सहयोग पुग्ने डीएसपी पाठकले विश्वास व्यक्त गरे ।
हराएका मोबाइल फोन फेला पारेर धनीलाई हस्तान्तरण गर्ने र अनलाइन ठगीमा परेका नागरिकको रकम फिर्ता गराउने कार्यले इलाका प्रहरी कार्यालय अनारमनीको नागरिककेन्द्रित प्रहरी सेवाको महत्त्व उजागर गरेको भन्दै पीडितहरूले खुशी व्यक्त गरे ।