मासुको मूल्य आफूखुसी वृद्धि, नगरपालिकाले कारबाही गर्ने
चाडपर्वको मौका छोपेर मासुको मूल्य नबढाउन भद्रपुर नगरपालिकाले चेतावनी दिएको छ । नगरपालिकाले एक सार्वजनिक सूचना जारी गरी मासुको मूल्य बढाए कारबाही गर्ने चेतावनी दिएको छ । नेपालीहरूको महान् चाड बडादसैँ तथा तिहारको पूर्वसन्ध्यामा भद्रपुर नगर क्षेत्रभित्र सञ्चालित मासु पसलहरूले बजारमा प्रचलित मूल्यभन्दा आफूखुसी मासुको मूल्य वृद्धि गरेका छन् । त्यसबारे आम समुदाय र उपभोक्ताहरूबाट गुनासो आएपछि भद्रपुर नगरपालिकाले सूचना जारी गरेको हो ।
मूल्यवृद्धिप्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै चाडपर्वको समयमा बजारलाई व्यवस्थित, स्वच्छ र उपभोक्तामैत्री बनाउनका लागि सम्पूर्ण मासु व्यवसायीहरूलाई मासुको मूल्य यथावत् राख्न र कुनै पनि बहानामा मूल्य वृद्धि नगर्न सूचनामार्फत जानकारी गराइएको छ ।
साथै, उपभोक्ताहरूलाई पनि सचेत रहन, प्रचलित बजार मूल्य भन्दा बढी रकम भुक्तानी नगर्न सूचित गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्रद्वारा जारी सूचनामा प्रचलित मूल्यभन्दा बढी मूल्य लिएको पाइएमा नगरपालिकामा आई सो को जानकारी दिनुहुन समेत अनुरोध गरिएको छ ।
यस सूचनाको बेवास्ता गरी आफूखुसी मूल्य वृद्धि गरी मासु विक्री वितरण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ।