भद्रपुर बजारमा ७७औँ सार्वजनिक दुर्गा पूजा हुँदै, रौनियारको अध्यक्षतामा समिति गठन
भद्रपुर । झापाको भद्रपुर बजारमा यसवर्ष ७७औँ सार्वजनिक दुर्गा पूजा मनाइने भएको छ। भद्रपुर नगरपालिका–६ स्थित श्रीकृष्ण मन्दिरअगाडिको खुला ठाउँमा आयोजना हुने पूजालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न प्रतीक शाह रौनियारको अध्यक्षतामा पूजा समिति गठन गरिएको छ।
दसैँको अवसरमा आयोजना गरिने सार्वजनिक दुर्गा पूजाका लागि अहिले पूजा पण्डाल निर्माण, विद्युत् तथा आकर्षक बत्ती जडानलगायतका तयारीका काम धमाधम भइरहेका छन्। पूजालाई व्यवस्थित र आकर्षक बनाउन समितिले आवश्यक तयारी अघि बढाएको अध्यक्ष रौनियारले बताए।
गठित समितिको उपाध्यक्षमा रोहित सिंह राजपूत, सचिवमा शङ्कर सोनी, सहसचिवमा विजय कशेरा र विकास गुप्ता तथा कोषाध्यक्षमा पूजा सोनी रहेका छन्। त्यस्तै, वरिष्ठ सदस्यमा रोशनकुमार शाह रहेका छन्।
समितिका सदस्यहरूमा कुणाल रौनियार, अमन रौनियार, राजन कशेरा, शेखर कशेरा, अमित रौनियार, रोहित शाह, बलराम मिश्रा, विकेश जैसवाल, प्रतोन अग्रवाल, प्रवेश गुप्ता, पङ्कज बर्मन, कञ्चन जैसवाल र शिवु शाह रहेका छन्।
दुर्गा पूजाको अवसरमा विधिपूर्वक देवी दुर्गाको पूजा–आराधना गरिनुका साथै धार्मिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्ने परम्परा रहँदै आएको छ। दसैँको समयमा आयोजना हुने सार्वजनिक दुर्गा पूजाले धार्मिक आस्थाको संरक्षण गर्नुका साथै सामाजिक एकता, सद्भाव र सांस्कृतिक परम्परालाई निरन्तरता दिन सहयोग पुर्याउने अध्यक्ष रौनियारले बताए। उनका अनुसार पूजालाई भव्य र सभ्य बनाउन आवश्यक तयारीलाई तीव्रता दिइएको छ। पूजा पण्डाल निर्माणदेखि विद्युत् तथा बत्ती जडानसम्मका कामलाई प्राथमिकताका साथ अघि बढाइएको उनले जानकारी दिए।
भद्रपुर बजारमा आयोजना हुँदै आएको यो सार्वजनिक दुर्गा पूजालाई स्थानीय जानकारहरूले भद्रपुरकै पुरानो धार्मिक तथा सांस्कृतिक परम्परामध्ये एकका रूपमा लिने गरेका छन्। लामो समयदेखि निरन्तरता पाउँदै आएको यस पूजाले दसैँका बेला स्थानीय क्षेत्रमा धार्मिक रौनक थप्नुका साथै विभिन्न समुदायका मानिसलाई एकै ठाउँमा जोड्ने माध्यमका रूपमा समेत भूमिका खेल्दै आएको छ।