भद्रपुरमा मानसिक स्वास्थ्य सचेतनाका लागि सामुदायिक दौड
भद्रपुर । झापाको भद्रपुरमा साढे ३ किलोमिटर सामुदायिक दौड प्रतियोगिता आज सम्पन्न भएको छ। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सो दौड प्रतियोगिता सम्पन्न गरिएको हो ।
नेपाल सामुदायिक विकास केन्द्र भद्रपुर (एनसीडीसी)को आयोजनामा सम्पन्न ‘एनसीडीसी ३.५ के कम्युनिटी रन फर मेन्टल हेल्थ’ मा ७०० भन्दा बढीको सहभागिता रहेको थियो। दौडमा ५०० भन्दा बढी सहभागी, करिब ८० स्वयंसेवक र १५० स्थानीयवासी सहभागी भएका थिए।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सुरुवात गुरुकुलका गुरुहरूले वैदिक मन्त्र उच्चारण गरेर गरेका थिए। त्यसपछि प्रस्तुत गरिएको लाखे नाचले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। बिहान ७ः३० बजे सुरु भएको दौडमा सहभागीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।
दौड प्रतियोगितामा प्रथम भएका प्रवीणले गोल्ड स्टारका जुत्ता प्राप्त गरे। उनलाई गोल्ड स्टार सुज, भद्रपुरले जुत्ता उपलब्ध गराएको थियो। त्यसैगरी, दोस्रो भएका अर्जुन तामाङले इनर ह्विल क्लब अफ भद्रपुरको सहयोगमा र तेस्रो भएका सन्दीप कार्कीले रातो ढोका प्रोडक्ट्स, बिर्तामोडको सहयोगमा गोल्ड स्टारका जुत्ता प्राप्त गरेका थिए।

कार्यक्रममा सन फार्मास्युटिकल्स प्रालि, सोलार फार्मास्युटिकल्स, डेल्फी स्किन केयर बिर्तामोड, रातो ढोका प्रोडक्ट्स बिर्तामोड, इनर ह्विल क्लब अफ भद्रपुर, गोल्ड स्टार सुज र कनकाई हस्पिटल प्रालिले प्रायोजन गरेका थिए। भद्रपुर निवासी बिना अधिकारीले कार्यक्रममा खटिएका स्वयंसेवकका लागि खाजाको व्यवस्था गरेकी थिइन्।
दौड सम्पन्न भएपछि एनसीडीसीले लागुऔषध प्रयोगकर्ताहरूसँग करिब डेढ घण्टा छलफलसमेत आयोजना गरेको थियो। छलफलमा मनोचिकित्सक, अनुसन्धानकर्ता, नेपाल प्रहरी, न्यायिक क्षेत्रका प्रतिनिधि तथा एनसीडीसीका केही बोर्ड सदस्य सहभागी थिए। छलफलका क्रममा लागुऔषध प्रयोगकर्ताहरूले भोगिरहेका अनुभव र चुनौतीका साथै उनीहरूको पुनर्स्थापना, उपचार तथा सहयोगका सम्भावित उपायबारे विचार आदानप्रदान गरिएको थियो।
एनसीडीसीकी कार्यकारी निर्देशक माधवी मरासिनीको नेतृत्वमा सम्पन्न कार्यक्रमले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्न, मानसिक स्वास्थ्यका विषयमा खुला संवादलाई प्रोत्साहन गर्न र समुदायमा सहयोगको भावना विकास गर्न योगदान पुर्याएको आयोजकले जनाएको छ। कार्यक्रमले मानसिक स्वास्थ्यलाई व्यक्तिगत समस्याका रूपमा मात्र नभई सामुदायिक सरोकारका रूपमा बुझ्नुपर्ने सन्देश दिएको कार्यकारी निर्देशक मरासिनीले बताइन् ।