झापा गाउँपालिकामा ब्राउन सुगरसहित दुई जना पक्राउ
झापा गाउँपालिकामा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा गाउँपालिका–४ स्थित सुकुम्वासी बस्तीमा भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका शङ्कास्पद व्यक्तिलाई चेकजाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।
प्रहरी चौकी टाघनडुब्बाका प्रहरी सहायक निरीक्षक कृष्ण गिरीको कमान्डमा खटिएको टोली र प्रहरी चौकी शरणामतिबाट प्रहरी सहायक निरीक्षक तीर्थबहादुर भण्डारीको कमान्डमा खटिएको संयुक्त टोलीले असोज आज बिहान करिब ११ः३० बजे चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा झापा गाउँपालिका–६ निवासी २९ वर्षीय राजन बि.क. र २४ वर्षीय कृष्ण सदाको साथबाट कालो प्लास्टिकमा पोका पारी लुकाइछिपाइ ल्याएको ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्लास्टिकसहित उक्त पदार्थको तौल १ ग्राम ४० मिलिग्राम र प्लास्टिकबाहेक ६१ मिलिग्राम रहेको छ।
पक्राउ परेका दुवै जनालाई प्रहरी चौकी टाघनडुब्बामा ल्याई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ।