२०८३ कार्तिक २६ गते , बुधबार

झापामा प्रहरीकै घुमुवाले चलाउँदै चोरीको मोटरसाइकल, नम्बर प्लेट फेर्दै प्रयोग

sajilo news
झापा
२०८३ आश्विन २३ गते , शुक्रबार
झापामा प्रहरीकै घुमुवाले चलाउँदै चोरीको मोटरसाइकल, नम्बर प्लेट फेर्दै प्रयोग

पटक-पटक नक्कली नम्बर प्लेट फेर्दै चोरीको मोटरसाइकलमा झापा प्रहरीका घुमुवाहरू हिँड्ने गरेको पाइएको छ । चोरीको मोटरसाइकलमा हिँड्ने गरेका जिल्लाका घुमुवाहरूलाई जिल्ला प्रहरी कार्यालय झापाका प्रमुखले कारबाही गर्नुको साटो खुलेआम हिँड्न छुट दिएको पुष्टि भएको छ ।

करिब एक वर्षअघि चोरीको मोटरसाइकलमा जिल्लाका घुमुवाहरू हिँड्ने गरेको प्रमाण फेला पारेर प्रतिदिन दैनिकले समाचार प्रकाशन गर्न लाग्दा तत्कालीन झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूले ‘कृपया समाचार प्रकाशित नगरिदिनुस् हामी कारबाही गरिहाल्छौँ ’ भनेर आश्वासन दिएका थिए । तर, कारबाही गर्नुको साटो अर्को नम्बर प्लेट फेरेर सोही चोरीको मोटरसाइकलमा अझै इलाका प्रहरी कार्यालय गौरीगंजका घुमुवाहरू हिँड्ने गरेको भेटिएको हो ।

करिब डेढ वर्षअघि प्रहरीले चोरीको भारतीय अनटेस्ट मोटरसाइकल नियन्त्रणमा लिएर सम्बन्धित निकायमा बुझाउनु पर्नेमा नियमविपरित इलाका प्रहरी कार्यालय गौरीगंजका घुमुवाहरू प्रहरी हवल्दार डिकबहादुर कार्की र प्रहरी हवल्दार शंकर यादवले नक्कली नम्बर प्लेट राखेर चढ्ने गरेका थिए । हिरो कम्पनीको १२५ सिसिको कालो रंगको सो चोरीको मोटरसाइकलमा नेपालको डुव्लिकेट नम्बर प्लेट प्र।१।०२।०५३प। ६१४६ राखिएको थियो । एक जना भारतीय नागरिक अनटेस्ट मोटरसाइकलसहित गौरीगंज गाउँपालिका ५ स्थित फत्तेपुर नाकाबाट गौरीगंजतर्फ आउँदै गर्दा प्रहरीले शंका लागेर कागज पत्र खोज्दा मोटरसाइकल चालक मोटरसाइकलको कागज पत्र लिएर आउँछु भन्दै भारततर्फ गएका थिए । तर, ५र६ महिना बित्दा पनि उनी सो मोटरसाइकल लिन आएनन् ।

सोही चोरीको मोटरसाइकलमा प्रहरी हवल्दार डिकबहादुर कार्कीले आफ्‌नो बुलेट मोटरसाइकलको प्र।१।०२।०५३प। ६१४६ नम्बरको नम्बर प्लेट राखेका थिए । गौरीगंज प्रहरीका घुमुवाहरू चोरीको मोटरसाइकलमा हिँड्ने गरेको र एउटै नम्बर दुई वटा मोटरसाइकलमा भेटिएको भनेर प्रहरी उपरीक्षक लिम्बूलाई सप्रमाण जानकारी दिइएको थियो । उनले सो मोटरसाइकल जिल्ला प्रहरी कार्यालय झिकाइसकेको बताएका थिए ।

तर , सो मोटरसाइकल जिल्ला प्रहरी कार्यालय नलगी इलाका प्रहरी कार्यालय गौरीगंजमै लुकाएर राखिएको रहेछ । एक वर्षपछि त्यस मोटरसाइकलमा अर्कै नम्बर राखेर कुदाउने गरिएको छ । अहिले सो चोरीको मोटरसाइकलमा नेपालको डुव्लिकेट रातो नम्बर प्लेट मे। ८ प २५७० राखिएको छ । सो मोटरसाइकल गौरीगंज प्रहरीका घुमुवा प्रहरी हवल्दार देवेन्द्र मण्डलले प्रयोग गर्दै आएका छन् । चोरी डकैतीजस्ता अपराध गर्नेलाई कारबाही गर्ने निकायमा कार्यरत प्रहरीले नै ढाँट्दै छल्दै चोरीको मोटरसाइकल कुदाउने गर्नाले सिङ्गो प्रहरी विभाग नै कलङ्कित भएको छ । अहिले झापाका एसपी वसुन्धरा खड्का रहेकी छिन् । उनको कार्यकालमा पनि चोरीको मोटरसाइकल प्रहरी चढिरहेको छ । 

गत वर्ष घुमुवाहरू प्रहरी हवल्दार डिकबहादुर कार्की र प्रहरी हवल्दार शंकर यादवले चोरीको मोटरसाइकलमा चढेर हिँड्दा इलाका प्रहरी कार्यालय गौरीगंजको इन्चार्ज प्रहरी निरीक्षक भुवनबाबु खड्का रहेका थिए भने अहिले सोही चोरीको मोटरसाइकललाई घुमुवा प्रहरी हवल्दार देवेन्द्र मण्डलले कुदाइरहँदा प्रहरी इन्चार्जमा प्रहरी निरीक्षक कैलाश अधिकारी रहेका छन् । 

सम्बन्धित समाचार