बिर्तामोडको चिठ्ठा काण्ड : गोली लागेर थलिएका विकासको बिचल्ली
झापाको बिर्तामोडमा २०६४ सालमा भएको चिठ्ठा काण्डमा गोली लागेर घाइते भएका झापाको बिर्तामोड नगरपालिका– ६ का विकास केवटको बिचल्ली भएको छ । २०६४ साल असार २ गते बिर्तामोडमा चिठ्ठा उडाउने क्रममा विवाद भएपछि भएको आन्दोलनमा गोली चल्दा घाइते भएका केवट १९ वर्षदेखि पूर्ण अपाङ्ग भएर थलिएका छन् ।
२०६४ असार २ गते शनिबार दिउँसो ३ बजेतिर मुक्ति चोकमा गोली चल्दा माइक्रोबस काउन्टरमा कार्यरत केवटको टाउँकोमो गोली लागेको थियो । काउन्टरमा काम गरेर घर फर्किने क्रममा कृष्णहल जाने बाटोमा आइपुगेका केवट प्रहरीले चलाएको गोली लागेर ढलेका थिए । टाउकोमा गोली लागेर गिद्धि छरिएर ढलेका केवटलाई मानिसहरूले मृत्यु भइसकेको आशङ्का गरेका थिए ।
केवटलाई तत्काल उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याइए पनि उपचार हुन नसकेपछि परिवारले थप उपचारका लागि भारतको सिलिगुढीस्थित सुपरस्पेसियालीटि हस्पिटल लगेर उपचार गरेको दाजु सुवास केवटले बताए । उनले भने– भाइको उपचार नेपालमा सम्भव नभएपछि भारत पु¥यायौं, तीन दिन पछि मात्रै बल्ल होस आयो ।
तीन दिनपछि होस आए पनि शरीरको देब्रे पाटो चल्दैन भने एउटा आँखाको ज्योति समेत गुम्यो । ८३ दिन अस्पताल बसेर डिस्चार्ज भएका केवट दुई वर्षसम्म हलचल गर्न नसक्ने अवस्थामा रहेका थिए । आर्थिक अवस्था अत्यन्त कमजोर रहेको र कतैबाट आर्थिक सहयोग नपाउँदा भाइको उपचार राम्रो हुन नसकेको दाजु सुवास गुनासो गर्छन् । यदि समयमा राम्रो उपचार भएको भए भाइको स्वास्थ्यमा सुधार हुनुका साथै जिन्दगीभर औषधि खानु पर्ने थिएन होला भन्छन्–सुवास ।
२०७० सालसम्म ओच्छ्यानमै दिशा पिसाब गर्नुपर्ने बाध्यतामा रहेका विकास त्यस यता भित्ता समाएर बरन्डासम्म आउन सक्ने भएका छन् । स्याल डाँगीस्थित भद्रपुर माविको जग्गामा बसोबास गर्दै आएका कमजोर आर्थिक अवस्थाका केवट जिन्दगीभर औषधि खानु र अर्काको सहारामा बाँच्नु पर्दा अत्यन्तै समस्यामा परेका छन् । राज्यले सामाजिक सुरक्षा भत्ता दिने बाहेक अन्य कुनै किसिमको सहयोग नगरेको उनको गुनासो छ ।
उक्त गोली काण्डमा इलामको साङग्रम्बाका सुवास खत्रीको मृत्यु भएको थियो भने दर्जनौँ मानिस घाइते भएका थिए । नवजीवनको शान्ति समाजले सञ्चालन गरेको थियो ।
पछिल्लो समय झापामा विभिन्न कम्पनीहरूले बम्पर उपहार दिने नाममा हजारौँ सदस्य बनाएर ठगी गर्दै आएका छन् । नेपालमा चिठ्ठा उडाउन प्रतिबन्ध लगाइए पनि बम्पर उपहारको नाममा सेवाग्राहीहरू ठगीर्दै आएका छन् । केही दिन अघि बिर्तामोडमा नीलकण्ठ नेपाल ट्रेड एन्ड सप्लायर्सले एनके प्युरिफायरको नाममा बम्पर घोषणा कार्यक्रममा नियम विपरीत गर्न खोजेको भन्दै विवाद उत्पन्न भएको थियो ।
कार्यक्रममा विवाद भएसँगै उनीहरूले कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा सामूहिक उजुरी दिएका थिए । त्यस लगत्तै जिल्ला प्रशासन कार्यालयले उक्त कम्पनीको विषयमा अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय अनारमनिलाई निर्देशन दिएको थियो ।
जिल्ला प्रशासन कार्यालयको पत्र प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय अनारमनीले कम्पनीमा संलग्न कचनकवल–२ झापाका मिलन अधिकारी र अर्जुनधारा–१० का माधव घिमिरेलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय अनारमनिका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । उनीहरूलाई मंगलबार दोस्रो पटक अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बताए ।