२०८३ आश्विन १३ गते , मंगलबार

बिर्तामोडकी युवतीलाई हातखुट्टा बाँधेर पेट्रोल छर्केर आगो लगाउन खोज्ने भारतीय नागरिक पक्राउ

sajilo news
रासस
२०८३ आश्विन १३ गते , मंगलबार
बिर्तामोडकी युवतीलाई हातखुट्टा बाँधेर पेट्रोल छर्केर आगो लगाउन खोज्ने भारतीय नागरिक पक्राउ

झापाको बिर्तामोडमा एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्ने भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत किशनगञ्ज जिल्ला कदमगाछी थाना पछाडकट्टा ग्राम पञ्चायत घर भई हाल बिर्तामोडको अमृतभोग मिठाई पसलमा काम गर्दै आएका ४२ वर्षीय दिलिपचन्द्र राय रहेका छन् ।

गएराति १०ः३० बजे इलाम रोङ गाउँपालिका–३ घर भई हाल बिर्तामोड नगरपालिका–५ मा डेरा गरी बस्दै आएकी २२ वर्षीया एक युवतीको कोठामा राय गएका थिए । मादक पदार्थ सेवन गरी गएका रायले पेट्रोलसमेत बोकेर युवतीको कोठामा छिरेका थिए । उनले तन्ना च्यातेर युवतीको हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेका थिए ।

उक्त घटनाबारे प्रहरीलाई खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिएर रायलाई नियन्त्रणमा लिएको हो । घटनामा घाइते युवतीलाई उपचारका लागि मनमोहन अस्पताल बिर्तामोडमा लगि उपचार भइरहेको छ ।

घटनामा संलग्न रायलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आफूले युवतीलाई करिब ७० हजार रकम सापटी दिएको र सो रकम फिर्ता नदिएपछि आगो लगाउन खोजेको रायले प्रहरीलाई बताएका छन् ।

सम्बन्धित समाचार