झापाकी हेमाको भारतमा हत्या, श्रीमान विप्लव पक्राउ
झापाको मेचीनगर नगरपालिका-१० धुलावारी माइत भएकी हेमा मण्डलको हत्याको आरोपमा उनका श्रीमानलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।
श्रीमानसंग भारतको नक्सलवारीमा भाडामा बस्दै आएकी हेमाको शव कुहिएको अबस्थामा उनको कोठामा भेटिएको थियो । आफ्नी छोरीको कालगतिले मृत्यु भएको नभई हत्या भएको भन्दै माइती पक्षले प्रहरीमा उजुरी दिएका थिए । त्यसपछि भारतीय प्रहरीले पक्राउ गरी हेमाका पति विप्लव कुमार चौधरीलाई हिजो सिलिगुडी अदालतमा पेश गरेको थियो । दुई वर्षअघि विप्लव कुमार धुलावारीमा काम गर्न आउँदा हेमालाई फकाएर लिएर गएका थिए । काम गर्न जान्छु भनी विप्लव कुमार एक साता घर बाहिर गएका थिए । त्यही समयमा हेमाको हत्या भएको थियो ।
नक्सलबारीको रथखोला मोडस्थित एक भाडाको घरबाट एक महिलाको सडिसकेको अवस्थामा शव बरामद भएपछि स्थानीय क्षेत्रमा त्रास फैलाएको थियो । भारतको गंगारामपुरका बासिन्दा विप्लव चौधरी नेपालमा काम गर्ने क्रममा हेमासँग प्रेम सम्बन्धमा बाँधिएका थिए। करिब दुई वर्षअघि उनीहरूले भागेर विवाह गरेका थिए।
विवाहपछि यो दम्पती नक्सलबारीको रथखोला मोडमा भाडाको घरमा बस्दै आएको थियो। विप्लव कामको सिलसिलामा करिब एक सातादेखि घरबाहिर थिए। जब उनी घर फर्किए, उनले घरभित्र आफ्नी पत्नीको सडिसकेको शव फेला पारेका थिए।
घटनाको जानकारी पाउनासाथ नक्सलबारी प्रहरी टोली घटनास्थल पुगेर शव बरामद गरी नक्सलबारी अस्पताल पुर्याएको थियो। म्याजिस्ट्रेटको उपस्थितिमा कानुनी प्रक्रिया पूरा गरेपछि शवलाई पोस्टमार्टमका लागि उत्तर बंगाल मेडिकल कलेज एण्ड अस्पताल पठाइएको छ।
यसैबीच, नक्सलबारी प्रहरीले घटनाको सोधपुछका लागि मृतकका श्रीमान् विप्लव चौधरीलाई नियन्त्रणमा लिएको छ। घटनाको खबर पाएपछि हेमाका परिवारका सदस्यहरू नेपालबाट आइपुगेका छन्। हेमाका बुबाले आफ्नै ज्वाइँ छोरीको हत्उामा संलग्न रहेको आरोप लगाउँदै प्रहरी थानामा उजुरी दर्ता गराएका छन्।
विवाहपछि विप्लवले नेपालमा मोबाइल फोनको व्यापार गर्दै आएका थिए। यो दम्पतीबीच अन्तिम पटक सेप्टेम्बर २१ मा फोनमा कुराकानी भएको बुझिएको छ। प्रहरीले मृतक महिलाको मोबाइल फोन बरामद गरेको छ, जसबाट उनीहरूबीच असमझदारी र भनाभन हुने गरेको संकेत मिलेको छ। पीडित परिवारले दर्ता गराएको उजुरीका आधारमा नक्सलबारी प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको छ।