बिर्तामोडका बारमा बढ्दो कुटपिट र झडप घटना : ग्राहक सुरक्षाको जिम्मेवारी कसको ?
बिर्तामोड । बिर्तामोडमा सञ्चालित गन्तव्य क्लब एन्ड बारमा ग्राहक कुटिएको आरोपमा क्लब सञ्चालकसहित सातजनाविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी परेपछि मनोरञ्जन व्यवसायको आडमा हुने कुटपिट र झडपको विषय फेरि चर्चामा आएको छ।
असोज २ गते राति क्लबभित्रै सरोज लावतीमाथि बाउन्सरसहितको समूहले बियरको बोतललगायतका सामान प्रयोग गरी टाउको तथा शरीरका विभिन्न भागमा प्रहार गरेको आरोप लगाउँदै पीडित पक्षले प्रहरीमा जाहेरी दिएको हो। जाहेरीमा क्लब सञ्चालक निर्भीक शिवाकोटी, बाउन्सर हेड सञ्जीव धिमालसहित अमिर चौधरी, करण धिमाल, मानबहादुर धिमाल, अभिषेक धिमाल र लक्ष्मण धिमाललाई विपक्षी बनाइएको छ।
कुटपिटबाट लावतीको टाउकोमा गम्भीर चोट लागेको र उपचारका क्रममा १० टाँका लगाइएको जाहेरीमा उल्लेख छ। पीडित पक्षले घटनाको सिसिटिभी फुटेज सुरक्षित राखी निष्पक्ष अनुसन्धान गर्न, कुटपिटमा संलग्न अन्य व्यक्तिको पहिचान गर्न तथा दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ।
यो घटना गन्तव्य क्लब एन्ड बारसँग जोडिएको पहिलो विवाद भने होइन। यसअघि पनि क्लबमा झडप र कुटपिटका घटना सार्वजनिक हुँदै आएका छन्। पछिल्लो पटक सार्वजनिक भएको एउटा घटनामा बिर्तामोड–२ स्थित गन्तव्य डान्सबारमा राति करिब १ः३० बजे झडप हुँदा दुईजना घाइते भएका थिए। घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको थियो भने एकजना फरार रहेको विवरण सार्वजनिक भएको थियो।
सोही घटनाक्रममा क्लब सञ्चालक शिवाकोटीलाई समेत प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा नियन्त्रणमा लिइएको बताइएको थियो। यसले क्लबभित्र हुने झडप, सुरक्षाकर्मीको भूमिका र सञ्चालकको जिम्मेवारीबारे थप प्रश्न उठाएको थियो।
मनोरञ्जनस्थलमा ग्राहकबीच सामान्य विवाद वा झडप हुन सक्ने भए पनि एउटै प्रतिष्ठानमा पटक–पटक कुटपिटका घटना सार्वजनिक हुनु सुरक्षा व्यवस्थापनको विषयसँग जोडिन्छ। विशेषगरी ग्राहकको सुरक्षाका लागि राखिएका बाउन्सर नै विवाद वा कुटपिटमा संलग्न भएको आरोप लागेपछि क्लब व्यवस्थापनको सुरक्षा प्रणालीमाथि प्रश्न उठ्ने गरेको छ।
गन्तव्य क्लबमा पटक–पटक झडप तथा कुटपिटका घटना सार्वजनिक हुन थालेपछि बिर्तामोडका मनोरञ्जनस्थलमा ग्राहकको सुरक्षा, बाउन्सरको आचारसंहिता र व्यवसायीको जिम्मेवारीलाई लिएर पनि जिल्लाको शान्ति सुरक्षामाथि फेरि बहस सुरु भएको छ।