मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न झापा प्रशासन एक्सनमा
झापामा पछिल्लो समय बजारमा बढ्दो अत्यावश्यक वस्तुको अनावश्यक मूल्य वृद्धि, कालोबजारी, कृत्रिम अभाव सृजना, अनावश्यक सञ्चय लगायतका उपभोक्ता हक विपरीतका गतिविधि नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय झापाले पहल थालेको छ ।
उपभोक्ता हित संरक्षणका लागि जिल्ला प्रशासनले बजार अनुगमनलाई प्रभावकारी बनाउने विषयमा शुक्रबार चन्द्रगढीमा सरोकारवालाहरू बीच समन्वय बैठक तथा अन्तरक्रिया सम्पन्न गरेको छ । झापामा भर्खरैबाट प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका श्रवणकुमार पोखरेलको अध्यक्षतामा भएको बैठक तथा अन्तरक्रियाले उपभोक्ताको हित प्रवर्द्धनमा योगदान गर्ने लगायतका विभिन्न पाँच वटा निर्णय समेत गरेको छ ।
प्रजिअ पोखरेलले कानून विपरीतका कुनै पनि गतिविधि दण्डनीय हुने भएकाले कानूनको पालना गर्न सबैलाई आग्रह गरेका छन् । बजार अनुगमनलाई प्रभावकारी रुपमा अगाडि बढाइ उपभोक्ताको हित संरक्षण गर्न सबै सरोकारवाला अघि बढ्नुपर्नेमा प्रजिअ पोखरेलले जोड दिएका छन् । बैठकमा विगतमा भएको बजार अनुगमनको समीक्षा गर्दै आगामी दिनमा अनुगमन कार्यलाई प्रभावकारी बनाउने निर्णय भएको छ ।
त्यस्तै उद्योग वाणिज्य, उद्योग संघ लगायतका उद्योगी, व्यवसायीका प्रतिनिधि संस्था मार्फत उद्योगी, व्यवसायीहरूलाई कानून बमोजिम व्यावसायिक स्वच्छता र अनुशासन कायम गरी उपभोक्ता हित प्रवर्द्धनमा योगदान गर्ने समेत बैठकले निर्णय गरेको छ ।
त्यसैगरी विषयगत कार्यालयहरूले जिल्ला प्रशासनको नेतृत्वमा भएको बजार अनुगमन बाहेक पनि आफ्नै नेतृत्वमा विषयगत क्षेत्रसँग सम्बन्धित बजार अनुगमन गरी जिल्ला प्रशासनमा मासिक प्रतिवेदन पेश गर्ने बैठकले निर्णय गरेको छ । स्थानीय तहले बजार अनुगमन संयन्त्रलाई अझ प्रभावकारी तुल्याउन प्रमुख प्रशासकीय अधिकृतहरूले थप सक्रियता देखाउने र उपभोक्ता हित संरक्षण क्षेत्रमा कार्यरत संस्थाहरू तथा सञ्चारकर्मीहरूले पनि आ–आफ्नो क्षेत्रबाट उपभोक्ता जनचेतनामूलक सन्देश प्रवाहमा सहयोग गर्ने बैठकले निर्णय गरेको छ ।
सहभागीहरूले आफ्ओ क्षेत्रको अवस्थाको जानकारी गराउँदै विभिन्न सुझाव राखेका थिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेल, प्रहरी उपरीक्षक बसुन्धरा खड्का, राष्ट्रिय अनुसन्धान कार्यालय झापाका उपअनुसन्धान निर्देशक उमेश पाण्डे, बिर्तामोडका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, भद्रपुरका निमित्त प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र रञ्जितकार, अर्जुनधाराका दिनेश ढुङ्गाना, शिवसताक्षीकी सुनिता तुम्वाहाङ्फे, बुद्धशान्तिका मनोजकुमार साह, हल्दिबारीका मानबहादुर वनले आफ्नो पालिको अवस्थाबारे जानकारी गराएका थिए ।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले बैठक तथा अन्तरक्रियाका समग्र विषयहरू माथि टिप्पणी गर्दै बजार अनुगमनलाई नियमित र आकस्मिक गरी निरन्तरता दिनुपर्ने, कानून विपरीत कार्य गर्नेलाई दण्डित र उपभोक्ताको हितमा उदाहरणीय काम गरिरहेका व्यावसायिक फर्मलाई पुरस्कृत गर्नुपर्ने धारणा राखे ।
त्यस अवसरमा झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजकुमार राई, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईँ, उपाध्यक्ष सन्तोष खवास, बिर्तामोड उद्योग वाणिज्य संघका विशिष्ट सदस्य निर्मल भट्टराई, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष जनक कार्की, गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरकुमार खत्रीले उद्योगी, व्यवसायीका समस्या र बजारको अवस्था बारे जानकारी गराएका थिए ।
त्यस अवसरमा उपभोक्ता जागरण अभियानका सदस्य अनुप निरौला सहित सरकारी कार्यालयका प्रमुखहरू ब्रिजकुमार दास, शीतल भट्टराई, पुष्पलता उप्रेती, प्रेमप्रकाश मण्डल, डिल्लीराम चम्लागाँई, रजनीश झा, सुवासचन्द्र ओस्ती, विजय इङ्नाम, प्रविना ढकाल लगायतले समेत विषयगत कार्यालय काम/कारबाहीका बारेमा जानकारी गराएका थिए ।