कांग्रेस महाधिवेशनमा होमियो, आज र भोलि वडा अधिवेशन
नेपाली कांग्रेस आजदेखि महाधिवेशनमा होमिएको छ। १५औं महाधिवेशनअन्तर्गत कांग्रेसले आजदेखि वडा अधिवेशन शुरू गर्न लागेको हो।
आज र भोलि देशभर वडामा अधिवेशन गर्ने तालिका छ। वडा अधिवेशनले वडा कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय प्रतिनिधि पनि चुन्नेछ। क्षेत्रीय प्रतिनिधिले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्छन्। महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन्।
गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका वडाको संरचनाअनुसार वडा कार्यसमितिमा निर्वाचित हुने पदाधिकारी तथा सदस्यको संख्या फरक छ। वडा अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत पुगिसकेको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए। रसुवा र नुवाकोटको निर्वाचन क्षेत्र नं १ बाहेक अन्य ठाउँमा वडा अधिवेशनको तयारी भइरहेको उनले जानकारी दिए।
कांग्रेसकै निवर्तमान सभापति शेरबहादुर देउवा समूह भने महाधिवेशनमा सहभागी हुने छैन। समूहले आगामी मंसीरमा छुट्टै महाधिवेशन गर्ने तयारी गरेको छ। गत पुसमा भएको विशेष महाधिवेशनपछि कांग्रेस दुई समूहमा विभाजित छ।