भद्रपुर नाकाबाट लागूऔषध सप्लाई गर्ने गिरोहसँग साँठगाँठको आरोप, गलगलिया थानाध्यक्ष निलम्बित
भद्रपुर नाकाबाट नेपालमा लागूऔषध सप्लाई गर्ने गिरोहसँग साँठगाँठ गरेको आरोपमा भारतको बिहारस्थित किशनगञ्ज जिल्लाको गलगलिया थानाका थानाध्यक्ष उपनिरीक्षक राकेश कुमार निलम्बित भएका छन् । किशनगञ्जका प्रहरी अधीक्षक सन्तोष कुमारले प्रारम्भिक अनुसन्धान प्रतिवेदनका आधारमा थानाध्यक्ष राकेश कुमारलाई तत्काल लागू हुने गरी निलम्बन गरेका हुन् । उनी दुई बर्षदेखि गलगलिया थानाको इञ्चार्जको रुपमा कार्यरत थिए ।
भारतको गलगलिया नाका नेपालतर्फ झापाको भद्रपुरसँग जोडिएको महत्वपूर्ण सीमावर्ती नाका हो । राकेश कुमारमाथि शंकास्पद आचरण, अनुशासनहीनता, कर्तव्य पालनामा लापरबाही, मनोमानी तथा वरिष्ठ प्रहरी अधिकारीको आदेश उल्लंघन गरेको आरोप लगाइएको छ।
किशनगञ्ज प्रहरीले लागूऔषध ओसारपसार तथा त्यससँग सम्बन्धित आपराधिक गतिविधिविरुद्ध अभियान तीव्र बनाइरहेका बेला थानाध्यक्ष कुमारको गतिविधि शंकास्पद देखिएको जनाइएको छ। करिब तीन दिनअघि गलगलिया क्षेत्रमा लागूऔषधविरुद्ध गरिएको छापा कारबाहीका क्रममा उनको व्यवहार शंकास्पद देखिएपछि घटनाबारे अनुसन्धान अघि बढाइएको थियो। प्रहरीले गलगलियाको लकडी डिपोमा छापा मारेर तीन करोड भन्दा बढीको ब्राउन सुगर र पेस्तोलसहित दुई कारोबारीलाई पक्राउ गरेको थियो ।
घटनाबारे किशनगञ्जका उपविभागीय प्रहरी अधिकारी (एसडीपीओ) मार्फत प्रारम्भिक अनुसन्धान गरिएको थियो। एसडीपीओले बुझाएको प्रारम्भिक प्रतिवेदनका आधारमा राकेश कुमारलाई निलम्बन परेका हुन्। अनुसन्धानका क्रममा आरोप पुष्टि भएमा प्रचलित प्रहरी नियमअनुसार थप विभागीय कारबाही हुन सक्ने जनाइएको छ।
किशनगञ्ज प्रहरीले लागूऔषध कारोबार नियन्त्रणलाई प्राथमिकतामा राख्दै सीमावर्ती क्षेत्रमा निगरानी र कारबाही बढाएको छ। नेपाल–भारत सीमा क्षेत्रमा लागूऔषध ओसारपसारका घटना बढ्दै गएको सन्दर्भमा भारतीय सुरक्षाकर्मीले समेत सीमावर्ती क्षेत्रमा विशेष निगरानी गर्दै आएका छन्।
प्रहरी अधीक्षक सन्तोष कुमारले प्रहरी संगठनभित्र कर्तव्य पालनामा हुने लापरबाही, अनियमितता वा भ्रष्ट आचरणप्रति शून्य सहनशीलता नीति अपनाइएको बताएका छन्। दोषी पाइएमा प्रहरी अधिकारी वा कर्मचारी जोसुकै भए पनि कडा कारबाही गरिने उनको भनाइ छ।
गलगलिया थानाका थानाध्यक्षमाथि भएको यो कारबाहीले नेपालसँग जोडिएको सीमावर्ती क्षेत्रमा लागूऔषध नियन्त्रण अभियानमा खटिएका भारतीय प्रहरीको भूमिकामाथि समेत चासो बढाएको छ। यसअघि पनि गलगलिया थानाका तत्कालीन थानाध्यक्ष राहुल कुमार निलम्बनमा परेका थिए। दुई वर्षअघि भएको उक्त कारबाहीपछि पुनः सोही थानाका इन्चार्ज निलम्बनमा परेका हुन्। गलगलिया भद्रपुरसँग जोडिएकाले त्यहाँ हुने लागूऔषध नियन्त्रणसम्बन्धी र प्रहरी माथिको विभागीय कारबाहीलाई नेपालतर्फका सुरक्षा निकायले समेत चासोका साथ हेर्ने गरेका छन्।