झापामा बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म राहदानी र राष्ट्रिय परिचयपत्र सेवा
जिल्ला प्रशासन कार्यालय झापाले राष्ट्रिय परिचयपत्र तथा राहदानी (पासपोर्ट) सेवा लिन आउने सेवाग्राहीको अत्यधिक चापलाई ध्यानमा राख्दै आवेदन (ब्याकलग) शून्यमा झार्ने अभियान’ सञ्चालनमा ल्याएको छ।
लामो समयदेखि अनलाइन आवेदन फाराम भरेर बायोमेट्रिक तथा अन्य प्रक्रियाका लागि पालो पर्खिरहेका सेवाग्राहीलाई सहज र छिटोछरितो सेवा उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
अभियानअन्तर्गत कार्यालयले नियमित समयभन्दा बढी समय सेवा प्रवाह गर्ने भएको छ। अभियान २०८३ साल असोज १५ गतेसम्म सञ्चालन हुनेछ।
यस अवधिमा सेवाग्राहीलाई दैनिक बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म सेवा प्रदान गरिने कार्यालयले जनाएको छ। सार्वजनिक बिदाका दिनमा समेत सेवा प्रवाहलाई निरन्तरता दिइनेछ। अनलाइन आवेदन दिएर लामो समयदेखि पालो पर्खिरहेका सेवाग्राहीको बाँकी आवेदन सकेसम्म छिटो फछ्र्योट गर्ने लक्ष्यसहित अभियान सञ्चालन गरिएको प्रशासन कार्यालयले जनाएको छ।
कार्यालयले अनलाइन आवेदन गरी पालो पर्खिरहेका सम्पूर्ण सेवाग्राहीलाई आवश्यक सक्कल कागजातसहित तोकिएको समयमा जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई सेवा लिन अनुरोध गरेको छ।