२०८३ भाद्र २४ गते , बुधबार

कच्चा तेल बोकेका पाँचवटा इरानी ट्यांकरमा अमेरिकी आक्रमण

sajilo news
एजेन्सी
२०८३ भाद्र २४ गते , बुधबार
कच्चा तेल बोकेका पाँचवटा इरानी ट्यांकरमा अमेरिकी आक्रमण

अमेरिकी सेनाले पाँचवटा इरानी कच्चा तेल बोकेका ट्यांकरमा आक्रमण गरेको छ। आफ्ना नौसैनिक पानीजहाजमाथि इरानले दुई दिनमा दुईपटक ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणको प्रयास गरेको भन्दै जवाफमा अमेरिकाले आक्रमण गरेको हो। अमेरिकी केन्द्रीय कमान्डका अनुसार नेपाली समयअनुसार बुधबार बिहान गरिएको कारबाहीमा चारवटा ट्यांकर ओमानको खाडीमा र एउटा ट्यांकर फारसको खाडीस्थित खार्ग टापुनजिकै निशाना बनाइएको सीएनएनले जनाएको छ। 

सेन्टकमले अमेरिकी नौसैनिक पानीजहाजमाथि इरानले गरेको दुवै आक्रमणको प्रयास असफल भएको र अमेरिकी जहाजले आफूलाई जोगाउँदै क्षेत्रीय समुद्री क्षेत्रमा गस्ती जारी राखेको जनाएको छ। घटनामा कुनै पनि अमेरिकी सैनिक घाइते नभएको अमेरिकी पक्षको दाबी छ। अमेरिकी सेनाले ट्यांकरमाथि आक्रमण गर्नुअघि ती जहाजमा रहेका चालक दललाई जहाज छाड्न निर्देशन दिएको थियो। 

यो कारबाही अमेरिका–इरानबीच जारी युद्धमा होर्मुज जलमार्ग वरपरको क्षेत्रलाई केन्द्रमा राखेर अमेरिकाले दबाब बढाइरहेको बेला भएको हो। अमेरिकाले व्यावसायिक जहाजलाई रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज पार गराउन सुरक्षा प्रदान गर्नुका साथै इरानी बन्दरगाहमाथि नौसैनिक नाकाबन्दी कायम राखेको छ। अमेरिकी रणनीतिलाई इरानी शासनमाथि आर्थिक दबाब बढाउने उद्देश्यसहितको ‘फुल कोर्ट प्रेस’ अभियानका रूपमा प्रस्तुत गरिएको छ।

अमेरिकी सेनाले आफ्ना तेल ट्यांकरमाथि आक्रमण गरेपछि इरानले पनि जवाफी कारबाही गरेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सले अमेरिकी सेनालाई लक्षित गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। इरानले जोर्डनस्थित मुवाफ्फाक सल्ती एयर बेसलाई आफ्नो मुख्य लक्ष्य बनाएको बताएको छ। उक्त सैन्य आधार अमेरिकी सेनाले पनि प्रयोग गर्दै आएको महत्वपूर्ण क्षेत्र हो।

जोर्डनको सेनाका अनुसार इरानबाट प्रहार गरिएका २० ब्यालिस्टिक क्षेप्यास्त्रमध्ये १८ वटा जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गरेको थियो। बाँकी दुई क्षेप्यास्त्र भने मानव बस्ती नभएको क्षेत्रमा खसेका थिए। घटनामा कुनै मानवीय क्षति नभएको जोर्डनको सेनाले जनाएको छ। इरानले अमेरिकी युद्धपोतलाई लक्षित गर्दै थप आक्रमण गर्ने चेतावनीसमेत दिएको छ। साथै बहराइन र कुवेतका बन्दरगाहनजिक रहेका तेल ट्यांकरलाई पनि निशाना बनाउने धम्की दिएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानलाई अमेरिकी नौसैनिक जहाजमाथि आक्रमणको प्रयास नगर्न चेतावनी दिएका छन्। कोलम्बियाको भ्रमणमा रहेका रुबियोले बारान्कियामा पत्रकारहरूसँग कुरा गर्दै इरानले अमेरिकी नौसैनिक जहाजलाई निरन्तर निशाना बनाउन खोजिरहेको र त्यसको प्रत्येक प्रयासको बदलामा इरानले तेल ट्यांकर गुमाउने बताएका हुन्। उनले भने, ‘इरानले अमेरिकी नौसैनिक जहाजमा आक्रमण गर्ने प्रयास जारी राख्छ भने हरेकपटक उसले ट्यांकर गुमाउनेछ।’

केही दिनअघि सप्ताहन्तमा पनि अमेरिकी सेनाले तीनवटा इरानी कच्चा तेल बोकेका ट्यांकरमा आक्रमण गरेको थियो। त्यसअघि इरानको आईआरजीसीले अमेरिकी विमानवाहक पोत र निर्देशित क्षेप्यास्त्र प्रहार गर्न सक्ने एउटा अमेरिकी विध्वंसक युद्धपोतलाई लक्षित गरी आक्रमणको प्रयास गरेको अमेरिकी पक्षको दाबी थियो।

यसरी केही दिनको अवधिमै अमेरिकी सेनाले इरानी तेल ढुवानी गर्ने कम्तीमा आठवटा ट्यांकरमाथि कारबाही गरेको अमेरिकी पक्षले जनाएको छ। तेल ट्यांकरमाथिको सैन्य कारबाहीसँगै अमेरिकी ट्रम्प प्रशासनले मंगलबार इरानको विमान उद्योगमाथि पनि व्यापक प्रतिबन्ध घोषणा गरेको छ। नयाँ प्रतिबन्धअन्तर्गत २७ वटा इरानी एयरलाइन्स तथा नौवटा सेवा प्रदायक र बिक्री एजेन्ट प्रभावित भएका छन्।

उनीहरूमाथि सन् २०११ देखि अमेरिकी प्रतिबन्धमा रहेको इरानी निजी विमान कम्पनी महान एयरलाई सेवा तथा सहयोग उपलब्ध गराएको आरोप लगाइएको छ। अमेरिका र इरानबीचको पछिल्लो सैन्य तनावले विश्व तेल बजारमा समेत तत्काल प्रभाव पारेको छ। इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनामाथि थप आक्रमण गरेपछि बुधबार प्रारम्भिक कारोबारमै तेलको मूल्य लगातार चौथो दिन बढेको हो। अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य १.५७ डलर अर्थात् १.६ प्रतिशतले बढेर प्रतिब्यारेल ९९.४९ डलर पुगेको छ।

त्यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको मूल्य १.६० डलर अर्थात् १.७२ प्रतिशतले बढेर प्रतिब्यारेल ९४.६३ डलर पुगेको छ। अगस्टको सुरुदेखि ब्रेन्ट कच्चा तेलको मूल्य करिब २५ प्रतिशतले बढिसकेको छ। युद्ध दीर्घकालीन रूपमा समाधान हुने सम्भावना कमजोर बन्दै जानु तथा पुनः सैन्य गतिविधि तीव्र हुनुले तेल बजारमा आपूर्ति अवरोधको चिन्ता बढाएको छ।

यद्यपि पछिल्लो तनावका बाबजुद ब्रेन्टको मूल्य अहिलेसम्म १०० डलर प्रतिब्यारेलभन्दा माथि स्थायी रूपमा पुगेको छैन। अमेरिका–इरान युद्धका कारण विश्वको महत्वपूर्ण ऊर्जा आपूर्ति मार्गमध्ये एक होर्मुज प्रभावित भएको छ। साथै रेड सी क्षेत्रमा पनि तेल ढुवानीमा अवरोध देखिएको छ।

सम्बन्धित समाचार