झापामा ब्राउन सुगरसहित तीन युवक पक्राउ
झापाका छुट्टाछुट्टै स्थानबाट प्रहरीले ब्राउन सुगरसहित तीन युवकलाई पक्राउ गरेको छ। कनकाई नगरपालिका–५ तल्लो चप्रामारीबाट साइकलको सिटमुनि लागूऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन्।
प्रहरी टोलीले सोमबार साँझ ६ः१५ बजे चेकजाँच गर्ने क्रममा कनकाई नगरपालिका–४ मनकामना टोलका ३२ वर्षीय रोशन चौधरीलाई पक्राउ गरेको हो।
शंका लागेर चेकजाँच गर्दा चौधरीले प्रयोग गरेको लेडिज साइकलको सिटमुनिको पाइपभित्र लुकाएर ल्याएको अवस्थामा प्लास्टिकसहित १४ ग्राम ५० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
साइकलसहित नियन्त्रणमा लिइएका चौधरीलाई प्रारम्भिक अनुसन्धानपछि आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड पठाइएको छ। यसैगरी, मेचीनगर नगरपालिका–६ दुर्गा मन्दिर क्षेत्रबाट भारतबाट ब्राउन सुगर खरिद गरी ल्याउँदै गरेको आरोपमा अर्जुनधाराका दुई युवक पक्राउ परेका छन्।
सोमबार दिउँसो ४ बजे लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका–११ देउनिया टोलका २१ वर्षीय गोविन्द श्रेष्ठ र सोही स्थानका ३० वर्षीय कृष्णबहादुर प्रधानलाई पक्राउ गरेको हो।
भारतबाट लागूऔषध खरिद गरी ल्याउँदै गरेको सूचनाका आधारमा उनीहरूलाई चेकजाँच गर्दा प्लास्टिकसहित ११ ग्राम ६५० मिलिग्राम र प्लास्टिकबाहेक १० ग्राम २७० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ।