भद्रपुरमा ‘लागू औषधविरुद्ध झापा अभियान’ अन्तर्गत सचेतना कार्यक्रम
भद्रपुर । लागूऔषधको बढ्दो जोखिम न्यूनीकरण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले भद्रपुरमा ‘लागू औषध विरुद्ध झापा अभियान’ अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय झापा र इनरह्वील क्लब अफ भद्रपुरको संयुक्त आयोजनामा भद्रपुरस्थित एयरपोर्ट होटलमा सो कार्यक्रम सम्पन्न भएको हो।
इनरह्वील क्लब अफ भद्रपुरकी अध्यक्ष डिक्छेन शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल प्रमुख अतिथि तथा जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक वसुन्धरा खड्का विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा लागू औषधको जोखिम, यसबाट पर्ने सामाजिक तथा स्वास्थ्यसम्बन्धी असर र रोकथामका उपायबारे सचेतनामूलक भिडियो प्रस्तुति गरिएको थियो। विद्यालयमा विद्यार्थीलाई लागू औषधको जोखिमबारे सचेत गराउने उद्देश्यले विभिन्न विद्यालयका लागि सचेतनामूलक ब्यानर तथा पोस्टरसमेत हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा नगर प्रमुख गणेश पोखरेल, प्रहरी उपरीक्षक वसुन्धरा खड्का, लवकुश आश्रम भद्रपुरकी अध्यक्ष रञ्जु शर्मा र ओएचटीकी दिपा निरौलाले लागू औषध नियन्त्रण तथा न्यूनीकरणका विषयमा मन्तव्य राखेका थिए ।
वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक मोतीलाल योञ्जन तामाङले सहजीकरण गरेको कार्यक्रममा इनरह्वील क्लब अफ भद्रपुरकी संस्थापक अध्यक्ष कुसुम अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् । निर्मला निरौला खड्काले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन प्रभा ढकालले गरेकी थिइन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाको तर्फबाट लागू औषधविरुद्धको सचेतनामूलक नृत्यसमेत प्रस्तुत गरिएको थियो।
लागू औषधको प्रयोगबाट विशेषगरी युवा तथा विद्यार्थी वर्ग प्रभावित हुन सक्ने भएकाले विद्यालयदेखि समुदायस्तरसम्म निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए। लागू औषध नियन्त्रणका लागि प्रहरी, स्थानीय तह, विद्यालय, अभिभावक, सामाजिक सङ्घसंस्था तथा समुदायबीचको सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो।