एशियन हाइवे: रतुवामा जस्तै निन्दा, बिरिङ र कन्काईमा पनि आर्क पुल बन्दै
एशियन हाइवेको रतुवामा जस्तै झापाको निन्दा, बिरिङ र कनकाई नदीमा पनि आर्क पुल निर्माण हुने भएको छ । आकर्षक आर्क पुल निर्माण गर्नका लागि अहिले फ्याक्ट्रीमा स्टिलको काम चलिरहेको काँकडभिट्टा– लौकही सडक आयोजना पूर्वी खण्डले जनाएको छ । चौथो प्याकेजअन्तर्गत ३०० मिटरभन्दा लामा तीन वटा पुलहरू निन्दा , बिरिङ र कनकाईको ठेक्का लगाइएको थियो । ५ अर्ब ९७ करोड रुपैयाँमा कोभेक–क्रेजसी–टुन्डी जेभीले ती तीन वटा पुलको ठेक्का पाएका हुन् ।
अहिलेसम्म पुलहरूको प्रगति ३१ प्रतिशत पुगेको पूर्वी खण्डले जनाएको छ । रतुवा पुलको जस्तो ती तीन वटा खोलामा आर्क पुल निर्माण हुने र स्टिलको काम शुरु हुने बित्तिकै प्रगति थपिने छ ।
त्यस्तै एसियन हाइवेको काँकडभिट्टा– लौकही सडकको पूर्वी खण्डको सम्झौता सकिन दुई महिना बाँकी रहँदा सडक निर्माणको आधा काम पूरा भएको छ । अहिलेसम्म ५१.३ प्रतिशत सडक निर्माणको काम पूरा भएको हो । तीन वर्षे ठेक्का सम्झौता अनुसार दुई वर्ष १० महिना बितिसक्दा मात्र ५१.३ प्रतिशत काम भएको हो ।
काँकडभिट्टादेखि केर्खा सितापुरीसम्मको ४५ किलोमिटर सडक एभ्रास्कोन– कालिका जे.भी.ले १० अर्ब ६ करोड रुपैयाँमा ठेक्का लिएका हुन् । उनीहरूले २०८० माघ १९ गतेदेखि काम शुरु गरेका थिए । दुवै ठेक्काको सम्झौता मिति २०८० कात्तिक २ गते र निर्माण सम्पन्न गर्नुपर्ने मिति कार्य प्रारम्भ मितिबाट ३ वर्षभित्र अर्थात् २०८३ कात्तिक १ गते रहेको छ ।