२०८३ भाद्र ३ गते , बुधबार

पश्चिम बंगालमा फेरि अर्को एक होटलमा भीषण आगलागी, एक बालकसहित ९ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८३ भाद्र ३ गते , बुधबार
पश्चिम बंगालमा फेरि अर्को एक होटलमा भीषण आगलागी, एक बालकसहित ९ जनाको मृत्यु

पश्चिम बंगालको राजधानी कोलकाताको नयाँ बजार क्षेत्रमा रहेको एक होटलमा मंगलबार राति भएको आगलागीमा एक बालकसहित कम्तीमा ९ जनाको मृत्यु भएको छ। निसास्सिएर मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अन्य छजनाको अवस्था  गम्भीर रहेको र उनीहरूलाई मेडिकल कलेजमा भर्ना गरिएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार  मृत्यु हुने सबै बंगलादेशी नागरिक हुन्। उनीहरू उपचारको लागि त्यहाँ गएका थिए। यद्यपि, प्रहरीले मृतकहरूको पहिचान पुष्टि गरेको छैन।

अग्नि नियन्त्रक स्रोतका अनुसार बिहान २ बजेतिर होटलको तेस्रो तल्लामा आगलागी भएको थियो। आगलागीको जानकारी पाएपछि, नयाँ बजार प्रहरी चौकीका प्रहरीसहित दमकल घटनास्थलमा पुगेको थियो। 

अग्नि नियन्त्रकका एक अधिकारीले प्रारम्भिक अनुमानमा आगलागी सर्ट सर्किटका कारण भएको बताए पनि अनुसन्धानपछि मात्र सही कारण खुल्ने बताए।

प्रहरीले घटनाको बारेमा मुद्दा दर्ता गरी अनुसन्धान सुरू गरेको छ। होटलका प्रबन्धकलाई हिरासतमा लिइएको छ र सोधपुछ भइरहेको छ।अस्पताल स्रोतहरूले होटल भित्र फसेको बेला निसास्सिएर एक बच्चासहित कम्तीमा नौ जनाको मृत्यु भएको बताएका छन्। अस्पताल पुग्नु अघि नै उनीहरूको मृत्यु भएको छ। अन्य छ जनाको हाल उपचार भइरहेको छ,जसमध्ये केहीको अवस्था गम्भीर छ।

स्थानीयहरूले आगलागी हुने बित्तिकै होटलको लिफ्टले काम गर्न बन्द गरेको बताएका छन्,जसले गर्दा त्यहाँ बसिरहेकाहरू आतंकित भएर बाहिर निस्कन बाध्य भएका थिए। यद्यपि, केही मानिसहरू आफ्नो कोठामा फसेका थिए र धुवाँ निस्सासिएर बेहोस भएका थिए। यसअघि सोमबार बिहान वीरभूम जिल्लाको तारापीठमा रहेको एक होटलमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको थियो।

सम्बन्धित समाचार